कोरोना भाइरसका संक्रमितहरुको संख्या दिनदिनै बढिरहेको छ। संक्रमणमुक्त भएर घर जानेहरुको संख्या र संक्रमित भएर आइसोलेशन बस्नेको संख्या उस्तै उस्तै छ। कोरोना भाइरसको महामारीका कारण भएको लकडाउन केही खुकुलो बनेको छ। तर यस्तो अवस्था कहिलेसम्म ? के अरु केहीमहिना संक्रमण फैलिन रोकिएन भने लकडाउनलाई कायमै राख्ने ? यस्ता प्रश्न आम सर्वसाधारणदेखि अर्थतन्त्रप्रति चिन्तित बौद्धिक वर्गले पनि सोध्न थालेका छन्। यही सन्दर्भमा जनस्वास्थ्यविद डा.समिरमणि दिक्षितसँगको कुराकानीलाई कोरोना क्याप्सुलबाट साभार गरी यहाँ उल्लेख गरिएको छ।
कोरोनाको संक्रमणबाट जोगिँदै जिन्दगीको रथ चलाउने उपाय के छ त ?
नेपालमा त धेरै जना अलमलमा छन्। भारत, बंगालादेश र पाकिस्तानलाई हेरौं उहाँहरुले के गरिरहनुभएको छ। तिनै देशमा संक्रमण हाम्रोमा भन्दा उच्च छ। जनसंख्या पनि उच्च छ र मृत्युदर पनि उच्च छ। उहाँहरु सबैले संक्रमणसँगै खुकुलो गर्दै नियन्त्रणको प्रयास पनि जारी राख्नुभएको छ। हामीले अमेरिका युरोपलाई हेर्न भन्दा पनि छिमेकी राष्ट्र हेर्ने हो। उनीहरुले देखाइसके कि खुकुलो पार्दै जनजीवनमा हामी फिर्ता जान सक्छौं।
संक्रमणबाट जोगिँदै आय आर्जन गर्न नेपालले के गर्नुपर्ला त ?
टोल टोलमा जानुपर्यो, वडा वडामा जानुपर्यो र सके सम्म धेरै परिक्षण वडा वडामा गर्नुपर्यो। त्यति गर्दै जुन जुन वडामा संक्रमण धेरै देखिन्छ। त्यसलाई सिल गर्ने, लकडाउन गर्ने हो भने गरौं। तर बाँकीलाई चाँही आफ्नो जनजीवनमा फिर्ता जान दिउँ। गर्नुपर्ने हामीले त्यो हो। संसारका अरु देशले पनि त्यही गरेका छन्। त्यसलाई हामीले स्मार्ट लकडाउन गर्नुपर्दछ। एउटा त्यो कुरा भयो। दोस्रो माक्स लगाउन अनिवार्य गरिदिने अरु देशले गरे जस्तै। माक्स नलाउनेलाई कारबाही गर्ने सम्मको प्रक्रिया चाल्ने। हाम्रो सुरक्षा निकायको काम त्यहाँ हुन्छ।
व्यवसायीहरुहरुलाई विशेष गरी कारवाहीको दायरमा ल्याउने। व्यवसायीहरुले पनि माक्स लगाएको ग्राहकलाई मात्र सेवा दिने अरुलाई नदिने। यसरी अगाडी बढ्ने हो भने हामी खुकुलो पार्दै अगाडी बढ्न सक्छौ ।
पसल, व्यवसाय, यातायात र सरकारी सेवा अब कसरी नियमित गर्न सकिन्छ ?
एउटा गाडीमा धेरै जना मान्छे बस्न नदिएर सकेसम्म धेरै गाडी चलाएर अघि बढ्न सकिन्छ। निजी गाडीमा पनि एउटा गाडीमा दुइ जना भन्दा बढी नपाउने, मोटरसाइकलमा पनि दुइ जना भन्दा बढी नपाउने। यस्ता यस्ता नियम बनाएर अगाडि बढ्न सकिन्छ र अगाडि पनि बढ्नुपर्छ। पसल व्यवसाय तुरुन्तै खोल्नुपर्छ। अहिलेको जस्तो दिनमा ३ चार घण्टा खोलेर होइन कि दिनभरी खोल्न दिनुपर्छ नियमित रुपमा। पसल भित्र सिमित व्यक्ती कम्तीमा दुइ मिटरको दुरीमा मान्छे रहन सक्ने गरी छिर्न दिनुपर्छ। ठूलो पसलमा २० जना। यसरी दुइ मिटरको दुरी कायम गर्ने गरी मात्र पसलहरु खोल्नुपर्छ। नत्र बाहिरै ग्राहकहरुलाई राखेर व्यवसायी भित्र बसेर माक्स लगाएर दुरी मेन्टन गरेर काम गर्नुपर्छ। मुख्य कुरा माक्स अनिवार्य गर्नुपर्छ दुरी अनिवार्य गर्नुपर्छ। दिनभर पसल खोल्न सकिन्छ। यो कुरा पर जान पर्दैन भारतमा सुरु भइसकेको छ। बंगलादेश र पाकिस्तानमा पनि लागू नै छ। मान्छेमा नचाँहिदो त्रास सिर्जना गरिएको छ। जस्तो पसल खुल्दैमा कार्यालय खुल्दैमा संक्रमण हवात्तै बढ्ने होइन। बढ्ने कसरी भन्दा हामीले सावधानीका र मापदण्डका उपाय पालना गरेनौं भने बढ्छ। माक्स लगाउनुहोस् दुरी कायम राख्नुहोस। सतहलाई सफा राख्ने नियमित रुपमा त्यो भयो भने संक्रमण सर्दैन। आखिर संक्रमण सर्न भाइरस नाकबाट भित्र छिर्नुपर्यो नि। यदि नाकलाई बचाइराख्छौं भने जिउभित्र कसरी छिर्छ। त्यसैले खुकुलो पार्न गाह्रो छैन। खुकुलो पार्न लगाउन एकदमै जरुरी हुन्छ।