२०७६ साल माघबाट सूर्यबहादुर भट्टराई लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष छन्। उनले अस्पताल व्यवस्थापनको जिम्मेवारी सम्हालेलगत्तै कोरोना भाइरस संक्रमणको प्रभाव देखा पर्यो। कोरोना भाइसरले सबै क्षेत्रमा प्रभाव पार्यो। मुलुकमा लकडाउन भयो। यही बीचमा लुम्बिनी प्रादेशिक अस्पतालको स्वरुपमा केही परिवर्तन पनि देखियो। सेवाग्राहीका समस्या भने उस्तै रहेको गुनासो पनि छ। प्रस्तुत छ, अस्पतालका अध्यक्ष भट्टराईसँग कोरोना संक्रमणको चुनौति र अस्पतालका योजनाका बारेमा लुम्बिनी टाइम्स डटकमका लागि सुदीप भण्डारीले गरेको कुराकानी।
यहाँ अध्यक्ष भएर आइसकेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा केही परिवर्तन देखिएको छ। त्यो कसरी सम्भव भयो ?
अस्पताल बिल्कुल जीर्ण अवस्थामा पुगेको थियो। यसलाई सुधार गर्न अनिवार्य थियो। त्यो समयको आवश्यकता पनि थियो। अध्यक्षको कुर्सीमा बसिसकेपछि कि सुधार्नु पर्दथ्यो, कि त छोडेर हिड्नुपर्थ्यो। पुरानो भवनमा सबै किसिमका सेवा हुँदा सेवाग्राहीलाई निकै असुविधा भएको थियो। त्यसमाथि कोरोनाको महामारीमा जोखिम थपियो। त्यसैले बाहिर अस्थायी टहरा बनाएर ओपीडीका कतिपय सेवा त्यहाँ सुरु गर्यौं। उपचारको लागि प्रतिक्षा गर्ने सेवाग्राही खुल्ला रुपमा बस्न सक्ने भए। हातधुने ठाउँ, १०–१२ वटा शौचालयहरु थप्यौं। अस्पतालको आकस्मिक कक्ष दोब्बर क्षेत्रमा विस्तार गर्यौं। स्वास्थ्य क्षेत्रका जानकार, अस्पतालका अधिकारी, स्थानीय तह प्रदेश सरकार सबैसँग समन्वय गरेर सुधारको बाटोतर्फ लाग्यौं।
अस्पतालको मुहारमा केही परिवर्तन आएपनि सेवा प्रवाहमा देखिएका समस्या त उस्तै छन् नि ?
अस्पताल निकै पुरानो हो। सेवा दिने युनिटहरु पनि धेरै पूराना छन्। आजको भोलि हुने कुरा त होइन। विस्तारै विस्तारै सुधार गर्दै लैजान्छौं। अस्पतालको सेवालाई डिजिटलाइजेशन पनि गर्दैछौं। यस्तो भयो भने कतिपय कामको लागि अस्पताल आइहाल्न पदैन। जस्तै घरबाटै अनलाइन माध्यमबाट टिकट बुकिङ गर्न सकिन्छ। प्रयोगशालाको रिपोर्ट दिएपछि पर्खेर बस्नुपरेन मोबाइलमै म्यासेज जाने व्यवस्था गर्छौ। त्यसो भयो भने कतिपय समस्या हल हुन्छ। धेरैबेर अस्पताल बस्नु पर्दैन। डिजिटलाइजेसनको लागि अन्तिम चरणमा पुगेको छ। ६ महिना भित्र काम सुरु होला।
कोरोना महामारी सुरु भइसकेपछि कसरी व्यवस्थापन गर्नुभयो ?
हामीले जान्दै नजानेको र सुन्दै नसुनेको रोग आयो। सुरुमा कसो गर्ने, के गर्ने भन्ने हुने नै भयो। मान्छे भेटन पनि डराउनुपर्ने अवस्था थियो तर पनि चुनौतिको सामना गर्नु नै थियो। बुटवल प्रदेशको राजधानी शहर। घना बस्ती भएको ठाउँ। प्रदेशभरमै धेरै सेवाग्राही आउने लुम्बिनी प्रादेशिक पनि कोरोनासँग जुध्नुपर्ने परिस्थिति आयो। छुट्टै कोरोना अस्पतालको अवधारणा आयो सबै मिलेर कोरोना विशेष अस्पतालको निर्माण ग¥यौं। त्यसअनुसारले काम भइरहेको छ।
कोरोना महामारीमा व्यवस्थापनका दृष्टिले के कस्ता चुनौति र जटिलता आयो ?
यो विश्वव्यापी नयाँ रोग भयो। यही सम्बन्धी जानकार भएका चिकित्सक हुने कुरा भएन। लक्षण पनि व्यक्ति पिच्छेको फरक हुने। कोरोना लागेको मान्छेलाई अरु जुनसुकै रोग पनि लागेको हुन सक्ने भयो। ती सबैलाई अलग अलग युनिट तयार गर्नुपर्ने भयो। अहिले हामीले सुत्केरी गराउने, डायालिसिस सेवा र ज्वरोको क्लिनक अलग सुरु गरेका छौं।
कोरोना संक्रमित गर्भवतीको सुरुमा शल्यक्रिया भएन, पछि कसरी सम्भव भयो ? सार्वजनिक स्तरमा आलोचना भएपछि नै काम गर्नुपर्ने हो र ?
हाम्रो अस्पतालमा त्यस अनुसारको संरचना बनिसकेको थिएन। अपरेसन गर्ने ठाउँको सीमितता थियो। कोरोनाको बेला स्वास्थ्य सुरक्षाको कुरा पनि थियो। यी सबै कुरा मिलाउन केही दिन लाग्थ्यो। शुरुको केशले अलि आलोचना भयो। तर त्यसमा केही कुरामा बुझाई फरक पर्यो। अब त्यो समस्या दोहोरिन दिनहुँदैन भनेर लाग्यौं। ठाउँहरुको व्यवस्थापन गर्यौं। अस्पताल प्रदेश सरकारको सहयोगमा यही संक्रमित गर्भवती महिलाको शल्यक्रियाको लागि यही व्यवस्था भयो।
एक समय एकैदिनमा दुई–तीन जनाको मृत्यु भयो, त्यस्तो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न के गर्नुभयो ?
चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि कोरोना भाइरस विरुद्धको लडाइमा निकै खट्नुभएको छ। अस्पतालमा सावधानी अपनाउँदा अपनाउँदै पनि केही स्वास्थ्यकर्मीहरुलाई कोरोना पोजेटिभ देखियो। एन आइसियु युनिट बन्द भयो पछि निर्मलीकरण गरेर सुरु गर्यौं। कोरोना भाइरसको उपचारमा खटेका चिकित्सकहरुलाई केही समय काम गरेपछि क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलायौं। बेला बेलामा पिसीआर परिक्षण हुन्थ्यो । अस्पतालका सबै विभागका स्वास्थ्यकर्मीहरु यो बेलामा निकै खट्नुभयो ।
स्वास्थ्यकर्मी र कर्मचारी ज्यान जोखिममा राखेर खटिएका छन्। तर ३५–४० दिनको मात्र जोखिम भत्ता पाएका छन्। त्यसयताको किन पाएनन् ?
अस्पतालसँग श्रोत पनि कम छ। हामीले प्रदेश सरकारसँग चार करोड माग गरेका थियौं। साढे १ करोड मात्र आएको छ। केही समय काम गरेर १४ दिन क्वारेन्टाइनमा बस्नुभएको थियो। क्वारेन्टाइन राख्ने होटलको व्यवस्थापनमा पनि खर्च भएको छ। अहिलेलाई क्वारेन्टाइनमा बसेको बाहेक काम गरेको दिनलाई आधार मानेर जोखिम भत्ता दिएका छौं। मागेको रकम प्रदेश सरकारबाट पूरै आयो भने उहाँहरुलाई सबै दिनको जोखिम भत्ता उपलब्ध गराउँछौं।
तपाईको कार्यकाल सकिँदासम्म अस्पतालले कस्तो स्वरुप पाउँछ ?
अहिले त केही सुरुवात मात्र भएको छ। यस कामले निरन्तरता पाउँछ। अस्पतालको नयाँ भवन बनिरहेको छ। त्यतिबेलासम्म १२ सय बेड तयार होला। जनशक्ति पनि अहिले भन्दा दुई गुना बढी थपिएला। उपचारको लागि आवश्यक धेरै उपकरण थपिन्छ। केही ठूला खालका गम्भीर उपचारबाहेक अरु सबै यही हुन्छ। यहाँबाट बिरामीहरु रिफर भइरहनुपर्दैन। रहरले उपचार गर्न बाहिर जानु अर्कै कुरा उपचारै नपाएर अन्त जानु नपर्ला। मेरो कार्यकालको ३ वर्ष भित्र एउटा नमुना अस्पताल बन्छ।