कोभिड–१९ बाट लामो समयदेखि ग्रसित एक बिरामीले डाक्टरसँग आफूलाई भेन्टिलेटरबाट निकाल्न अनुरोध गरिन् किनकि उनलाई अब त्यसरी जिउनु थिएन । एक महिनासम्म क्रिटिकल केयरमा बसेकी ती महिला ठीक भइसकिन् भनेर अक्सिजनका साथ घर फर्किएकी थिइन् ।
तर एक महिनापछि नै उनलाई फेरि ‘लङ फिबरोसिस’ भएकाले अस्पताल ल्याउनुपर्यो । यो भनेको कोभिडबाट संक्रमणमुक्त भए पनि त्यसले फोक्सोमा पुर्याउने दीर्घकालीन असर हो ।
यसरी दोस्रोपटक भेन्टिलेटरमा भर्ना हुँदा उनले तीनमहिना त्यहाँ बिताउनुपर्यो र त्यसैबीच उनले आफ्नी २८ वर्षीया एनेस्थेइस्ट, डाक्टर कम्ना कक्करलाई एउटा चिठी लेखिन्, “मलाई अब बाँच्न मन छैन । मलाई यो ट्युबबाट निकाल्नुहोस् । गर्मीयाममा कोभिड हुँदैखेरि तपाईँले मलाई नबचाएको भए हुन्थ्यो ।”
यसरी यी बिरामीलाई बचाउने अनेकौँ कोशिशका बावजुद अन्ततः उनको मृत्यु भयो ।
विशेषगरी भेन्टिलेटरमा काम गर्ने स्वास्थ्यकर्मीहरुले गम्भीर बिरामी, र मृत्यु देखिरहनुपर्ने बीबीसीमा प्रकाशित एक रिपोर्टमा उल्लेख छ । उनीहरू अधिक लामो समय काममा खट्नुपर्ने हुन्छ ।
डाक्टर कक्कर र उनका सहकर्मीले पनि कोभिड–१९ बाट सिकिस्त बिरामी परेका सयौँ मानिसहरुको उपचार गरे । तर यतिका महिनासम्म पनि प्यान्डेमिक अन्त्य हुने कुनै संकेत नदेखिँदा यो बिरामीका साथै स्वास्थ्यकर्मीका लागिसमेत अधिक पीडादायी बनेको छ ।
शारीरिक थकान त छँदै छ साथै उनीहरु मानसिक तनाव र निराशाबाट पनि गुज्रिरहनुपरेको छ ।
कक्कड भन्छिन्, “यहाँ एकजना बिरामी थिए जो पहिले अधिक आशावादी थिए, तर पछि निराश हुँदै गए अनि दिक्क हुन थाले र बिस्तारै बाँच्नै मन छैन भन्न थाले । उनलाई त्यसरी पीडामा देख्नु मेरा लागि पनि अधिक कठिन थियो ।”
भारतको मुम्बइभन्दा पश्चिमतर्फ १४०० किलोमिटरको दुरीमा सरकारद्वारा सञ्चालित केइएम अस्पतालका ३१ वर्षीय डाक्टर असीम गर्गभले आफ्ना यस्तै अनुभव सुनाए ।
एक युवा बिरामी जो घरका मुख्य आयकर्ता थिए, उनी कोभिड–१९ बाट ठीक भएर घरजाने पर्खाइमा थिए तर अचानक उनलाई स्ट्रोक भयो ।
त्यसपछि दुईहप्ता प्यारालाइज्ड भइ उनको मृत्यु भयो । मृत्युको कारण थियो– फोक्सोमा रगत जम्नु, जसलाई ‘पल्मनरी एम्बोलिजम’ पनि भनिन्छ र यो कोभिडका धेरै बिरामीलाई हुन सक्छ ।
उनी भन्छन्, “ती व्यक्तिले सबै औषधिको प्रतिक्रिया दिइरहेका थिए र तीव्ररुपमा ठीक पनि भइरहेका थिए अनि भाइरसलाई हराइ आफ्नो परिवारकहाँ जाने तयारी गरिरहेका थिए । तर अचानक के भयो भयो, सबै हराएर गयो । उनकी पत्नीलाई यसको समाचार दिनु अत्यन्तै पीडादायी र ट्रमायुक्त थियो । ती बिरामी हामीसँग ४५ दिनदेखि थिए । र यस किसिमको लाचारीले साँच्चै हामीलाई भित्रैदेखि टुक्र्याइरहेको छ । यो रोग यतिसम्म अप्रत्याशित हुन सक्छ ।”
कोरोना संक्रमण दिनानुदिन बढ्दै जाँदा भारतमा अस्पतालहरु भरिने क्रम रोकिएको छैन । अहिले यसबाट संक्रमित हुनेको सङ्ख्या भारतमा झन्डै एक करोड पुग्न लागिसकेको छ र १ लाख ४० हजार बढीले यसबाट ज्यान गुमाइसकेको तथ्याङ्क रहेको छ ।
महामारीका लागि भारतले अधिक नयाँ बेडहरु थप्यो तर क्रिटिकल केयरमा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा अस्पतालहरुले प्लास्टिक सर्जरी गर्नेदेखि इएनटीका डाक्टर, एनेस्थेइस्ट सबै उपलब्ध डाक्टरहरुलाई कोभिडको उपचारमा खटाएको हो ।
तर त्यतिले पनि अझै बिरामी थाम्न कठिन नै भइरहेको छ । स्वास्थ्यकर्मीहरु महिनौँ लगातार काम गरिरहनुले शारीरिक र मानसिक दुवै स्थिति खराब बन्दै गएको गुनासो गरिरहेका छन् ।
डाक्टर कक्कर भन्छिन्, “बाहिर जसरी अस्पतालहरुमा कहिल्यै महामारी कम भएको आभास भएन । तर बाहिरका मानिसहरुले यो कुरा महसुस गरेका छैनन् । डाक्टरहरु यतिबेला जाडोयामका बिरामीहरुको रेखदेख र उपचारमा व्यस्तको व्यस्तै छन् ।”
महामारीले मात्र स्वास्थ्यकर्मीहरुलाई थकित बनाएको होइन, यो नयाँ प्याथोजेनको व्यवहार अधिक अप्रत्याशित हुनुले पनि उनीहरुलाई निकै तनाव दिइरहेको छ । डाक्टरहरुका अनुसार यतिबेला भारतमा स्वासप्रस्वासको समस्या लिएर इमेरजेन्सीमा आउने सबै बिरामीलाई कोरोना भएकै शंका गरिन्छ जबकी कतिपयलाई वास्तवमा मुटुको समस्या, डेंगु, स्क्रब टाइफस भएको हुन्छ ।
त्यसैकारण शंकास्पद भएकाले डाक्टर र नर्सहरुले पनि सबैसँग त्यही किसिमको सावधानी अपनाएर परीक्षणको नतिजा नआउन्जेल छुट्टै वार्डमा राख्नुपर्ने हुन्छ ।
यसैले पनि धेरै बिरामी परेकाहरु भेन्टिलेटरमा पुग्दा उनीहरुले डाक्टरहरुसँग सम्पर्क नै गर्न पाउँदैनन् जुन कहिलेकाहीँ अत्यन्तै निराशाजनक हुने गरेको डाक्टर गर्गभ बताउँछन् ।
त्यस्तै डाक्टर र नर्सहरुले घण्टौँ स्क्रब, सुरक्षाका उपकरणहरु लगाएर काम गर्नुपर्ने हुन्छ जुन उनीहरुलाई शव राख्ने कोफिन जस्तै महसुस हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । र कतिले रातिको सिफ्टमा थकित भएको भूतको जस्तो तस्बिर राखिरहेका हुन्छन् । गत जुनमा डाक्टर गर्गभले पन्जा धेरै लगाएर चाउरी परेको आफ्नो हातको तस्बिर सामाजिक सञ्जालमा राख्दा यसबारे अधिक चर्चा भएको थियो ।
दिल्लीस्थित एक डाक्टर भन्छिन्, “अधिकांश स्वास्थ्यकर्मीहरु महिनौँदेखि घर गएकै छैनन् ।”
उनी आफैँले पनि ६ महिनापछि मात्र आफ्नो बच्चालाई भेटेको उनले बताइन् । प्रायः स्वास्थ्यकर्मीहरु आफ्नो परिवारको सुरक्षाका लागि भनेर अस्पतालमै या होस्टलमै बस्ने गर्दछन् । नोभेम्बरको अन्त्यमा दिल्लीस्थित लोक नायक जय प्रकाश नारायन अस्पतालकी एनेस्थेइस्ट प्राची अग्रवालले कोभिड–१९ ड्युटीको नवौँ राउन्ड सुरु गरेकी हुन् जसमा उनी १५ दिनसम्म दैनिक आठ घण्टा क्रिटिकल केयरमा काम गर्नुपर्ने हुन्छ ।
उनी भन्छिन्, “यो जीवन अत्यन्तै अनौठो छ, बिरामीहरुलाई दैनिक पीडादायी अवस्थामा देख्नुपर्ने या मृत्यु भोग्नुपर्ने, होटलमा बस्नुपर्ने र बाँकी दुनियाँबाट पूर्णरुपमा आइसोलेट हुनुपर्ने ।”
त्यस्तै डाक्टर र नर्सहरुसँग व्यक्तिगत क्षतिको शोक मनाउने समय पनि एकदम कम हुने गर्दछ । यो एक वर्ष धेरैले आफूसँगै काम गर्ने सहकर्मीहरु गुमाएका छन् । भारतमा मात्र कोभिड महामारी अवधिभरि अस्पतालमा खटिएका छ सयभन्दा बढी डाक्टरहरुको मृत्यु भइसकेको छ ।
मुम्बइस्थित अर्की एक डाक्टरले भनिन्, “अहिले मेरा धेरै साथीहरु एन्टि–डिप्रेसेन्ट लिइरहेका छन् र थेरापी खोजिरहेका छन् । उनीहरुलाई आफ्ना साथीभाइ, आफन्तहरु महामारी सकिए जसरी मास्क नलगाइ, लापरबाहीपूर्ण बिहे, पार्टी भोजमा गएको देख्दा अत्यन्तै रिस् उठ्ने र निराश महसुस हुने गर्दछ ।”
त्यस्तै स्वास्थ्यकर्मीहरुले आफूलाई हिरो भनिँदा पनि दिक्क लाग्न थालेको बताएका छन् । डाक्टर कक्कर भन्छिन्, “हामी त्यो चरणबाट पार भइसकेका छौँ र त्यसले अब काम गर्नेछैन । हौसलापूर्ण लेक्चरको पनि एउटा सीमा हुन्छ ।”
गत गर्मीयाममा कोभिडका कारण दुई सहकर्मी गुमाएपछि एलएनजेपी, भारतको सबैभन्दा ठूलो कोभिड अस्पतालका सबै स्वास्थ्यकर्मीहरुले दिनकै प्रार्थना गर्ने गरेका छन् । त्यहाँ इन्टेन्सिभ वार्डमा काम गर्ने फराह हुसेन भन्छिन्, “हामी भगवान्सँग हामीलाई बचाउन भनेर प्रार्थना गर्ने गर्दछौँ । र हामीलाई आशा छ कि एकदिन हामी भाइरसलाई पूर्ण रुपमा हराएकामा खुसी मनाउनेछौँ । ”