भैरहवा-रुपन्देहीको ग्रमिण क्षेत्रमा खोपबारे गलत भ्रम फैलाएपछि लक्षित समूहले खोपमा उत्सुकता नदेखाएको पाइएको छ ।
चीनबाट अनुदानमा आएको खोप देशव्यापी रुपमा लगाउने भनेर अभियान चलाएपनि रुपन्देहीका ग्रामिण क्षेत्र मर्चवारको कोटहीमाई, सम्मरीमाई, र मर्चवारीका लक्षित समूहमध्ये ३० प्रतिशतले मात्र खोप लगाएका छन्।
मर्चवारका ३ वटा गाउँपलिकामा ६२ देखि ६४ वर्ष उमेर समूहका १ हजार ८ सय ७५ जनालाई लक्षित गरेपनि तीन दिनको अभियानमा ५ सय ७४ जनाले मात्र खोपमा सहभागिता जनाएका छन्। जुन लक्ष्यको ३० प्रतिशत मात्र हो। रुपन्देहीको ग्रामिण क्षेत्रका गाउँपालिकाहरुमा चिनिया खोप प्रति नकारात्मक सूचना प्रवाह भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए।
स्वास्थ्य कार्यालयले स्थानिय तहहरुलाई जेष्ठ नागरिकहरुको संख्याका आधारमा खोप बितरण गरेको थियो। खोपलाई बृद्ध भत्तासँग जोडेर गलत भ्रम सिर्जना गरेको सुन्नमा आएकोले पनि खोप लगाउनेको संख्यामा कमि आएको गिरिले बताए।
केन्द्रमा पठाइएका खोपहरुमध्ये हिजोसम्म चलेको अभियानमा मर्चवारी गाउँपालिकामा १४ दशमलब ४ प्रतिशत, कोटहीमाईमा ३७ दशमलव ६ प्रतिशत र सम्मरीमाईमा ३९ दशमलव ५ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख गिरीले जानकारी दिए ।
जिल्लाको मर्चवार क्षेत्रमा मात्र नभएर लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका, मायादेवीको केही क्षेत्रमा पनि अनावश्यक हल्ला फैलाईएको थियो।
हल्ला कहाँबाट कसले फैलायो भन्ने पुष्टि भएको छैन। जेष्ठ नागरिकहरु खुलेर खोप लगाउन नआएको मर्चवारी गाउँपालिका अध्यक्ष केशवानन्दन बानियाँले बताए। ‘गाउँभरि अनावश्यक हल्ला फिजाएर खोप लगाउन धेरै आएनन’-उनले भने।
चिनिया खोप लगाएपछि मान्छे बिरामी हुन्छ, गाह्रो हुन्छ भन्ने हल्ला आफ्नो पालिकाका केही स्थानहरुमा पनि फैलिएको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुलले बताए।
खोप लगाउनेबारे जनचेतना नहुनु, बिरामी भइन्छ भन्ने डर, खोपले काम गर्दैन भन्ने मानसिकताले पनि ग्रामिण क्षेत्रमा खोप लगाउनेको संख्यामा कमि आएको मर्चवार क्षेत्रका क्रियाशिल पत्रकार सिताराम चौधरीले बताए।
जिल्लाको बिभिन्न स्थानहरुमा चिनियाँ खोपका विषयमा अनावश्यक हल्ला फिजाएर खोप नलगाएको भन्ने बिषयमा आफुलाई पनि जानकारी भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए। ‘अनावस्यक हल्ला भएको जानकारी आए पनि खोप लगाउन पाइएन भन्ने जेष्ठ नागरिकहरुबाट गुनाशाहरु भने आएको छैन’ तामाङले भने।
ग्रामिण क्षेत्रमा खोप नलगाए पनि शहरी क्षेत्रमा भने खोपका लागि हारालुछ छ। लक्षित र तोकिएका व्यक्तिहरुलाई खोप लगाउने भनेर मापदण्ड बाहेककाले खोप लगाएको भनेर विवाद भएपछि केही पालिकामा खोप कार्यक्रम स्थगित भएको थियो।