बालकृष्ण खाँण नेपाली राजनीतिमा स्थापित नाम हो । विद्यार्थी राजनीतिबाट उदाएका खाँण २०३७ सालमा नेपाल विद्यार्थी संघ रुपन्देहीको सभापति हुँदै राजनीतिमा होमिनुभएको हो । लोकतन्त्र संस्थागत गर्नेक्रममा जेलनेल र कष्ट सहनु परेको गृहमन्त्री खाँणको अनुभव छ । लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि रुपन्देही–३, बाट निर्वाचितका उम्मेदवार खाँणले निर्वाचित भएपछि रुपन्देही–३, समेत समग्र मुलुकको बिकासको नेतृत्व गर्ने बताउँदै आउनुभएको छ । मतदानको मिति नजिकिंदैं गदा प्रचारमा व्यस्त रहनुभएका खाँणसँग गरिएको कुराकानी :
तपाईंको राजनीतिक यात्रा कसरी सुरु भयो ?
मेरो राजनीतिको सुरवात विद्यार्थी कालमा भएको हो । विद्यालय, क्याम्पसमा नेविसंघमा संगठिन हुँदैं राजनीति र जनताका मर्का बुझने अवसर पाए । क्याम्पस तहबाटै मैले प्रजातन्त्रकालागि लडाईं लडेको हुँ । २०३९ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएँ । त्यसपछि क्रमशः त्रिभुुवन विश्व विद्यालयको स्वतन्त्र विद्यार्थी युनियननको उपसभापति भए । त्यसबेला पञ्चायत बिरुद्ध आन्दोलनमा थियौं । म अग्र मोर्चामै थिए । त्यही बेला २०४१ सालमा भएको महाधिवेशनबाट म नेपाल विद्यार्थी नेविसंघको केन्द्रीय सभापतिमा निर्वाचति भएको थिएँ ।
म दुुई कार्यकाल नेपाल तरुणदलको सभापति भए । तरुणदलको सभापति हुँदा म २०५४ सालमा भएको निर्वाचनमा आफै निर्वाचन नलडेर देशभर चुनावी अभियानमा खटिएको थिए । २०५६ सालमै म नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका थिएँ ।
पञ्चायतबिरुद्ध खरो बोल्नु हुन्थ्यो,अहिले बोली नरम छ ?
लोकतन्त्रमा सबैलाई बोल्न छुट छ । सबैले सामान ढंगले बोल्न सकुन भनेरै हामी निरंकुशता बिरुद्ध आन्दोलनमा होमियौं । त्यस क्रममा म खरो र चर्को भाषण गर्थे । पंचायत ढाल्दा होस् या निरंकुश राजा फाल्दा ती निरंकुश शक्तिलाई सुनाउन त्यसरी गर्जिनु पथ्र्यो । जनताले चिन्ने गरी राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा भाषण गरे । त्यसबेला सुस्त बोल्नेलाई राजावादी र पंचेले दबाउँथे, धम्क्याउँथे, आवाज सुन्दैन्थे, त्यसैले पनि चर्को स्वरमा बोल्नै पथ्र्यो । अहिले त्यस्ता शक्ति पाखा लगाएर मुलुकलाई आर्थिक बिकासमा डोर्याउने अभिभारा आएको छ । अहिले कम बोल्ने, धेरै काम गर्ने बेला हो । म पनि त्यहीँ गरिरहेको छुँ । निर्वाचन आचारसंहिता देखि पदको मर्यादा ध्यान राखेको छु । अहिले जनताका पक्षमा काम गर्नु पर्ने भएकाले धेरै बोल्न पर्दैन । मैले गरेका काम सबैले देखेका छन् । त्यसैले रुपन्देही–३, मा आसाको सञ्चार भएको छ । नागरिक उत्साहित छन ।
रुपन्देहीको बिकासलाई लिएर तपाईंको योजना के छन् ?
म मा हरेक चुुनौतीको समाना गर्दै जिम्मेवारी निर्वाह गर्ने क्षमता छ । सामान्य परिवारमा जन्मिएको र सधैं निरंकुशता बिरुद्ध लडेको इतिहाँस छ । मेरो जीवनको आधा समय राजनीतिक आन्दोलन र त्यसबाट भएका राजनीतिक उपलब्धी संस्थागत गर्दैमा बित्यो । व्यवस्था परिवर्तनमा लामो समय बित्यो । अब मतदाताको अवस्था परिवर्तन गर्ने बेला भएको छ । म त्यहीँ अभियानमा छुँ । मैले मेरो गृह जिल्ला रुपन्देहीको बिकासलाई प्राथमिकतामा राखेको छुँ । नेपाली कांग्रेसको सपना र योजना अनुसार रुपन्देहीमा ठूला ठूला बिकास योजना साकार भएका छन । जिल्लाको समग्र बिकासको क्रममा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सिंचाई जस्ता क्षेत्रमा उल्लेख्य योजना पारेको छुँ । गफ दिएको होइन । दस्तावेज र कागज हेर्नु भए हुन्छ । मेरो प्रचार गर्ने बानी छैन । काम गर्ने बानी छ । रुपन्देहीको तिनाउ र दानवबाट नागरिक सुरक्षित तुल्याउन जनताको तटबन्धन, आउजाउ सहज तुल्याउन पुल निमार्ण, सोह्र–छत्तीस सिंचाई प्रणालीलाई पक्कि निमार्ण गर्न मैले बजेट छुटयाएको हुँ ।
तपाईंको पहलमा भएका बिकास योजना के–के हुन् ?
रुपन्देहीमा मेरो र नेपाली कांग्रेसका अग्रज नेताहरुको पहलमा धेरै बिकास आयोजना लागू भएका छन् । ती मध्ये बेलहिया–बुटवल ब्यापारीक मार्ग, गौतमबुद्ध बिमानस्तललाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने, मणिग्राम–देवदह–लुम्बिनी बुद्ध सर्किट मुख्य हुन । मेरै पहलमा देवदह–मणिग्राम– लुम्बिनि– तिलौराकोट– गोरुसिंगें, तामनगर–फर्साटिकट हुँदै बेथरी–मर्चवार सडक, भैरहवादेखि नवलपरासीको भूमही, केदली– सिसुवा, मुर्गिया –सूर्यपूरा, देवदह – मणिग्राम–फर्साटिकर –सूर्यपुरा –लुम्बिनी, छपिया– बेथरी सडक निर्माण एवम् स्तरोन्नती सम्भव भएका हुन् । सघंसस्था, मठमन्दिर, मस्जित निमार्णमा उनले थुुप्रै सहयोग पुुर्याएको छु । सहयोग गर्दा कुनै विभेद गरेको छैन । समानुपातिक ढंगले सहयोग वितरण गरेको छु । बजेट छुटयाएको छु । सामुदायिक भवनदेखि विद्यालय भवन निमार्णमा मैले ध्यान दिएको छ ।
रुपन्देही–३ तपाईंका लागि अनुकुल छ त ?
तपाईंले भने जस्तै रुपन्देही–३, मेरा लागि सधै ‘लक्की’ सावित हुँदै आएको छ । मलाई क्षेत्र मात्र होइन समग्र जिल्लाबासीको साथ र समर्थन छ । क्षेत्र विभाजनका कारण मलाई कहिले कता–कहिले कता गरिरहनु परेको छ । तर, सबैले माया गर्दै आउनु भएको छ । म जहाँ गए त्यहाँका मतदाताको मप्रति आशा, भरोसा, विश्वास पाउने गरेको छु । यसपटक रुपन्देही–३, मा पति यस्तै माहोल छ । अहिले क्षेत्र एकजुट बनेको छ । सबैको एउटै आवाज बनेको छ । म रुपन्देही–३ बाटै तीन पटक प्रत्यक्ष निर्वाचन लडेर बिजयी भएको हुँ । यसपटक पनि रुपन्देही ३ बाटै उम्मेदवार बनेको छुँ । मेरा लागि रुपन्देही–३, लक्की हो । यसपटक पनि लक्की हुन्छु । अहिले देखिएको समर्थनबाट त्यो प्रष्ट छ ।
तपाईंका पर्यटकीय बिकासका योजना के छन् ?
गौतमबुद्ध विमानस्थलाई कार्गो हब बनाउने, भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औद्योगिक, व्यापारिक एवम् पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने मेरो लक्ष्य छ । वेलहियादेखि पोखरासम्मको सिद्धार्थ राजमार्गलाई स्तरोन्नति, बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार चौकी (आईसीपी)’, विशेष आर्थिक क्षेत्र विद्युतीय सबस्टेसन निर्माण तथा व्यवस्थित सञ्चालनका लागि नीतिगत निर्णय, सिद्धार्थनगरभित्र रहेको कारागारलाई उचित ठाउँमा स्थान्तरण गरि त्यहाँ रहेका व्यक्तिहरूलाई सीपमूलक तालिमका साथै ध्यान, योगा, शारिरिक व्यवयाम जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने, सिद्धार्थ नगरभित्रका अटोभिलेजलाई एकै ठाउँमा सुव्यवस्थित गर्ने योजना पनि मैले ल्याएको छुँ ।
यस बाहेक तपाईंका बिकास योजना के हुन ?
सिद्धार्थ नगरभित्रको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न सकिने किसिमले स्तरोन्नति गर्ने, भीम अस्पतालको स्तर वृद्धि गरि २४ घण्टे प्रयोगशाला सहितको सुविधासम्पन्न आइसियू, सिसियू तथा एनआईसीयू सेवा थप गर्ने मेरा योजना हुन । भैरहवा बहुमुखी क्याम्पसमा पूर्वाधार थप गरी आधुनिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने, पक्लिहवामा रहेको कृषि क्याम्पसलाई भौतिक सुविधा सम्पन्न बनाइनेछ भने कृषि तथा पशु चिकित्सा शिक्षा दुवैमा सिट सङ्ख्या बृद्धि गर्न आवश्यक पहल गर्ने, पक्लिहवा कृषि क्याम्पस हाताभित्र सुविधासम्पन्न पशु अस्पताल निर्माण गरी यथाशिघ्र सञ्चालन गर्ने, डण्डा खोलामा कोरिडोर निर्माण गर्ने, भैरहवामा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो ‘अन्न भण्डारण गृह’ निर्माण गर्ने, सिद्धार्थ नगरमा अत्याधुनिक चिस्यान गृह स्थापना गर्नुका साथै लुम्बिनी प्रदेशको भौगोलिक अवस्था र वातावरण सुहाउँदो विउ–बिजनहरू तयार गर्न अनुसन्धान केन्द्र सञ्चालन गर्न पहल गर्ने योजना बनाएको छु ।