बुटवल-रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ ।
गुल्मीको मदाने ६ का ४१ वर्षीय पुरूष जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका थिए । सामाजिक विकास मन्त्रालयले श्रद्धाञ्जली नोटअनुसार उनको मृत्यु भएको आधिकारिक पुष्टि भएको हो ।
भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार बिहान मृत्यु भएको प्रदेश ५ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले जानकारी दिए ।
क्रिमसन अस्पतालले अौपचारिक रूपमै उनको मृत्यु भएको जानकारी गराएको डा चौधरीले बताए । उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको डा चौधरीले जानकारी दिए । उनले शव व्यवस्थापनको तयारी थालिएको र शव नेपाली सेनाले व्यवस्थापन गर्ने उनले बताए ।
निमोनिया भएको भन्दै बिरामीको ढाडको अप्रेसन गरी पानी निकालेपछि उनी सिकिस्त बनेको उनका आफन्तले बताएका छन् । सिकिस्त अवस्थामा रहेका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो ।
जेठ ५ गतेमात्रै उनमा कोरोना पोजेटिभ देखिएको भैरहवास्थित प्रयोगशालाले जनाएको थियो । संक्रमण देखिएपछि बिरामीको वास्ता नगरेको र चिकित्सकले नियमित निगरानी पनि नगरेको आफन्तको दाबी छ ।
गुल्मीमा रहेका उनमा कसरी संक्रमण भयो भन्ने अझै खुलेको छैन । उनी कार्यरत रहेको विद्यालयलाई क्वारेन्टाइन बनाईएकोले त्यहीँबाट संक्रमण भएको अनुमान गरिएपनि क्वारेन्टाइनमा बसेका सबैको परिक्षण नहुदा अन्योल छ ।
जण्डिस, रुघा र ज्वरो आएपछि स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि पुगेका उनी त्यहाँ निको नभएपछि अर्घाखाँचीको छाया पोलिक्लिनिकमा आएका थिए । सन्धिखर्कमा उपचार हुन नसक्ने बताएपछि उनी एम्बुलेन्समा क्रिमसन अस्पताल आएका थिए । अस्पतालमा उनको सम्पर्कमा आएका चिकित्सकसहित ३८ जनाको स्वांब संकलन गरेर कोरोना परीक्षण गरिदैछ।
उनको अन्य व्यक्तिसंगको सम्पर्कको विषयमा अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा कोरोना संक्रमण देखिएपछि क्रिमसन अस्पताल, अर्घाखाँचीको छाया पोलिक्लिनिक शिल गरिएका छन् ।