गुल्मी । साविकका दुई गाविसको सिमा विवादले दलित वस्ती वर्षौंदेखि लालपुर्जाविहीन छ । जिल्लाको साविक अस्लेवा र ठुलोलुम्पेक गाविस हाल सत्यवती गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ३ को सिमा विवादले सत्यवती गाउँपालिका १ अस्लेवाको परमबित्ताको २५ घरपरिवार रहेको २५ घर परिवार रहेको दलित बस्तीले लालपुर्जा पाउन सकेको छैन ।
पुस्तौ फेरिए पनि लालपुर्जा आफुहरुले नपाउँदा दुःख लागेको स्थानीय ८१ बर्षिय तेल बहादुर दमाईले गुनासो गरे । अहिले म ८१ बर्षको भए वाउ वाजे, जिजुवाजे समेत यही ठाउँमा जिवन विताए दमाई भन्छन“ तर लालपुर्जा पाउने कुनै टुङ्गो नहुदाँ आफुहरु यो समाजका मान्छेहरु नभएको जस्तो लाग्छ ।”
आफुले पलाँती समेत देखेको बताउने दमाईका अनुसार लुम्पेकी र अस्लेवाका ठुलाठालुहरुको सिमाको लडाइँले आफुहरु वर्षौदेखि अहिलेसम्म अन्यायमा परेको बताए । अस्लेवा र लुम्पेकको सिमाना पर्ने उक्त गाउँको जग्गाहरुको लालपुर्जा नभएपनि उनीहरुको अस्लेवावाट नागरिकता भने बनेको छ ।
स्थानीयका अनुसार ४० बर्ष अगाडि गाउँको जग्गाको नापी भएको बताए । ४० वर्ष अगाडि जग्गा नापजाँच भएको थियो, त्यसपछि पुन नापी अहिलेसम्म भएको छैन, स्थानीय बाबुराम परियारले भने–तत्काल नापी हुदाँ अस्लेवा गाविस र ठुलोलुम्पेक गाविसका ठुलाबडाहरुको विवादले हामीहरुले अहिलेसम्म लालपुर्जा पाउन सकेनौ ।”
उनले पटक पटक विभिन्न निकायहरुमा लालपुर्जाका लागि धाउँदा स्थानीयको खर्च मात्रै भएको तर अहिलेसम्म कुनै निकास नआएको बताए । गाउँमा एक/एक हजार पैसा उठाएर निवेदन दिन अड्डाहरु पुग्यौं परियारले अगाडि भने–गरिवहरुको कुरो कहि कतै सुनुवाई नहुदो रहेछ ।”
प्रत्येक निर्वाचनमा राजनीतिक दलहरुले चुनावी एजेण्डा मात्रै बनाउने र आश देखाउने काम गरेको भन्दै उनीहरु आक्रोश व्यक्त गर्छन् । चुनावमा घोषणा पत्रमा लालपुर्जा उपलब्ध गराउने उल्लेख गरेर भोट माग्न सवै आउछन दलित युवा दिपक परियार भन्छन–दलितलाई चुनावको समयमा भोट बैंक मात्रै बनाउने तर पछि फर्केर कसैले हेर्दैनन् अव चुनावमा कसैलाई भोट समेत दिदैनौ ।”
लालपुर्जा नहुँदा आफुहरुलाई समस्या परेको वेला बैकंमा राखेर समस्या समाधान गर्ने र विक्रि गर्न समेत नपाईने अवस्था रहेको उनले बताए । स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमाले र नेपाली कांग्रेसको घोषणा पत्रमा सत्यवतीका वास्तविक भुमिहिन दलितहरुको तथ्याङ्क संकलन गर्ने र दुई बर्षमा जग्गा उपलब्ध गराई नमुना वस्ती निर्माण गर्ने भनिएको छ । तर पनि अहिलेसम्म उनीहरुको कुनै निकास निस्कन सकेको छैन ।
नेपाली कांग्रेसबाट निर्वाचित सत्यवती गाउँपालिकाका प्रमुख पारिश्वर ढकालले आफुले पनि पटक–पटक भाषणमा भन्ने गरेको स्विकार गरे । वडा नं १ का वडाध्यक्ष भिम प्रसाद पाण्डेयले अहिलेसम्म राज्यबाटै लालपुर्जा वितरण गर्ने प्रक्रिया नभएका कारण समस्या भएको बताए । उनले केन्द्रबाटै समस्या समाधानको पहल भएकाले आफुहरु पनि प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।
स्थानीय सरकारसँग छैन उपाय
सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले केहि दिन अघि प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलसँग लालपुर्जा बिहिन दलित गाउँको बारेमा ध्यानाकर्षण गराएको बताए ।
हामीले केन्द्रदेखि स्थानीय तहमा छलफल र जानकारी गराएको छौ उनले भने–स्थानीय सरकारसंग त्यो समस्या समाधान गर्ने कुनै उपाय छैन, माथी पनि कुरा भएको छ ।’
उनले केहि बर्ष पहिले जिल्ला मालपोत कार्यालय मार्फत सरकारले जग्गा दर्ता छुट विवरण संकलन गर्दा समेत स्थानीय लगेर निवेदन दर्ता गराएपनि लालपुर्जा प्राप्त नभएको बताए ।
आफ्नै जग्गाको लालपुर्जा नभएकाले त्यो समुदायहरुलाई ठूलो मर्का परेको अध्यक्ष ढकालको भनाई छ । उनले आफुहरुले लालपुर्जा वितरण गर्न मिल्ने भए तत्कालै उपलब्ध गराउने समेत बताए ।