बुटवल-यस क्षेत्रको चर्चित धार्मिक स्थल पाल्पाको तिनाउ गाउँपालिका दोभानमा पर्ने सिद्धबाबा मन्दिर क्षेत्र पहिरोको जोखिममा परेको छ। तिनाउ गाउँपालिका वडा नं. ३ दोभानमा पर्ने सिद्धबाबा मन्दिरको छेउमै रहेको खहरे खोलामा आएको ढुंगा र लेदोसहितको बाढीले मन्दिर परिसरमा क्षति पुर्याएको छ।
मंगलवार बिहान पौने १ बजे र २ बजे गरी दुई पटक आएको पहिरोसहितको खहरे खोलाको बाढीले मन्दिरनजिकै रहेको धर्मशालाको स्टोर कक्ष, भान्सा, धारा, प्रचार बोर्ड, नजिकैको फलामको रेलिङ्ग र श्राद्धस्थलमा क्षति पुराएको सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले बताए।
अध्यक्ष गुरुङका अनुसार मन्दिर क्षेत्रका भौतिक सामग्रीहरुको क्षति भएपनि मानवीय क्षति भएको छैन। २०३८ सालपछिको ठूलो वर्षा भएको र मन्दिरमा क्षति भएको मन्दिरका पुजारी लक्ष्मीपति सापकोटाले बताए।
बिहानैदेखि मन्दिर परिसरका ढुंगा र लेदो हटाउन डिभिजन सडक कार्यालय, पाल्पा र बुटवलसँग अनुरोध गरेको उनले बताए। उनका अनुसार एउटा जेसिभी मन्दिर परिसरमा पुगेपनि अवरोध हटाउन कठिनाई भएको छ।
समयमै मन्दिर परिसरका ढुंगा र लेदो हटाउन नसके मन्दिर क्षेत्र जोखिममा पर्ने उनले बताए।
सबै तस्वीर : दलबहादुर गुरुङ