गुल्मी–गुल्मीको सत्यवतीमा १३ जनाको ज्यान लिनेगरी पहिरो गएको वर्ष दिन पुगे। पहिरोले १३ जनाको ज्यान मात्रै लिएन, थुप्रै परिवार घरबारबिहिन भए।
करोडौका भौतिक संरचना पहिराले सखाप पारेपछि विक्षिप्त नागरिक अझै ढुक्कसँग सास फेर्न सक्दैनन्।
पहिरोले बढी असर गरेको सत्यवती ठूलो लुम्पेकको सिङ्दी गाउँ हो। सत्यवती गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट २४ र प्रदेश मार्फत ७९ घर निर्माण गर्ने निर्णय भएको थियो।
तर स्थानीय र प्रदेश सरकार दुवैको कामले गति लिएको छैन। लिम्घा, लुम्पेक र अस्लेवामा पूर्ण क्षति भएका आठ घर बाहेक अरुको काम सोंचेअनुसार नभएको सत्यवती गाउँपालिकाका प्रवक्ता भिमलाल पाण्डेयले बताए।
अघिल्लो वर्ष दशै तिहार सकिएपछि जग्गा खरिदमै महिनौ बिते। काम सुरु गर्ने बित्तिकै कोरोना संक्रमणले लकडाउन भयो।
जसका कारण पहिरो पीडित परिवारको पुनर्वास प्रभावित भएको पाण्डेयले बताए। गाउँपालिकाले जग्गा खरिद गरेर पहिरोले बढी असर गरेको वडा नं ३ ठूलोलुम्पेक सिङदीका ११ घर परिवारलाई वडा नं १ अस्लेवाको काफलडाँडामा घर निर्माण गरिरहेको छ। सिङदीकै १० घर परिवारलाई सोही वडाकै अन्य स्थान र वडा नं ४ लिम्घामा तीन घर परिवारलाई स्थानान्तरण गर्न घर निर्माणको काम सुरु भएको पाण्डेयले बताए।
अहिले अस्लेवाको काफलडाँडाका आठ घरको काम भइरहेको छ। जसमा पाँच घर सम्पन्न भएका छन्।
स्थानीयलाई बजेट फ्रिज भए निर्माणको काम अलपत्र पर्ने पिरलो थपिएको छ। ‘आएको बजेट काम नभएर फिर्ता भए हामीले के गर्ने ?–स्थानीय देवी सिंजालीले भनिन्–राज्यले हाम्रो पीडामाथि अन्याय नगरोस्।’
शहरी विकास तथा भवन कार्यालय पाल्पाका सव इन्जिनियर निशान थापाले आफुलाई असार मसान्तसम्मको कामको जिम्मा भएकाले त्यसपछिको अवस्थाको विषयमा अनविज्ञ भएको बताए।
श्रीमती र छोरासँगै घर पनि गुमाएँ, तर ओत पाइन
सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेकका रुद्र बिकले गतवर्ष पहिरोमा श्रीमती र छोरासँगै घरगोठ सबै गुमाए। श्रीमती र छोरासँगै घरगोठ गुमाएको पीडाले बिक विक्षिप्त छन्।
त्योसँगै एक वर्षसम्म नयाँ घरमा बस्ने सपना पनि पूरा भएन। वर्षातमा ओत लाग्ने ठाउँ छैन। हिउँदमा काम नै भएन। डिपिसी गरेर काम थालेका बेला लकडाउन भयो। सोही गाउँकी नीम कुमार सिंजालीको परिवार अहिले पनि छिमेकमै आश्रय लिएर बस्छन्। उनको गत वर्ष साउनमा घरगोठसँगै पशु चौपाया बगे। कहिले पाल टाँगेर, कहिले छिमेकीको घरमा गरेर महिनौ कटाइन्।
‘अहिले पनि पानी परे गाउँको बलियो घर खोजेर दौडनु पर्छ, घरगोठ बगेका वर्षदिन पुग्न थाले अझै कहाँ बस्ने ठेगान छैन–उनले भनिन–आशै आशमा वर्षदिन बिते।’
टेण्डरको कर, केन्द्रको भर
पहिरो प्रभावित गाउँको पुनर्वास, सिंचाई, खानेपानी, सडक र विद्यालयको लागि प्रदेशले कार्यान्वयन गर्ने गरेर केन्द्रबाट १० करोड रुपैयाँ विनियोजन भएको थियो। उच्च जोखिममा रहेका ७९ मध्ये ४७ घरले सम्झौता गरेका छन्।
ती मध्ये अधिकांशले डिपिसी बाहेकको काम गर्न नसकेको सत्यवती गाउँपालिका ३ का वडा अध्यक्ष रुक बहादुर रानाले बताए। पहिले प्रदेशबाट कार्यविधि बनाउन ढिलाई गरेको र अहिले लकडाउनका कारण निर्माण सामग्रीको ढुवानी, जनशक्ति व्यवस्थापनमै समस्या भएको रानाको भनाई छ।
गतवर्ष साउन ६ गतेको पहिरोले सत्यवती गाउँपालिका १, २, ३ र ४ मा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो।
पहिरो प्रभावित गाउँमा पुनर्वाससँगै ठूला सिंचाई आयोजना, सडक, खानेपानी र विद्यालय निर्माणको काम नहुँदा केन्द्रबाट विनियोजन भएको १० करोड फिर्ता हुने अवस्था रहेको छ। खानेपानीका ३१ वटा साना ठूला योजना निर्माणको काम अलपत्र छ।
‘अधिकांश आयोजना टेण्डर भएका बेला लकडाउन भयो, टेण्डर नै खोल्न पाइएन, पछि बर्खा सुरु भयो, काम गर्न सक्ने अवस्था छैन’–खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीका इन्जिनियर प्रकाश न्यौपानेले भने।
उनले करीब डेढ करोडको काम भएपनि गर्न नसकेपछि महाशाखासँगको मौखिक सहमतिमा आगामी असोजमा काम गर्ने गरि टेण्डर गरेर सम्झौता समेत भएको बताए। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले गुल्मीको सत्यवती पहिरोमा क्षति भएका सिचाई आयोजनाको लागि आठ करोड माग गरेको छ।
यो वर्ष एक करोड ४० लाख विनियोजन भएको थियो। तर लकडाउनको कारण ठूला आयोजनाको काम गर्न सक्ने अवस्था नभएपछि केही साना योजनाहरुको मात्र काम गरेको कार्यालय प्रमुख यमनारायण श्रेष्ठले जानकारी दिए। उनले अर्को वर्ष रकम विनियोजन गरेर धेरै काम गर्नुपर्ने अवस्था रहेको जानकारी दिए।
त्यस्तै शिक्षा र सडकका काम पनि सोचेअनुसार गर्न नसकिएको गाउँपालिकाले जनाएको छ। सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले कानुनी रुपमा विशेष अनुदानको बजेटबाट काम नभए फ्रिज हुने तर आफुहरुले समयमै काम गर्ने स्थिति नभएको बताए। ढकालले बजेट कार्यान्वयन गर्ने कार्यालयहरुले अहिले नभएपनि अर्को वर्ष गर्ने गरी दायित्व प्राप्त भएकाले काम नरोकिने आश्वासन दिएकै भरमा ढुक्क भएर बसेको बताए।
अझै गाउँ चर्किदै: घर छाडेर भाडामा बस्दै जोखिम क्षेत्रका बासिन्दा
अहिले पनि सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेकको ठाउँ–ठाउँबाट मान्छेहरु विस्थापित भइरहेका छन्। पहिरो खस्ने र जमिन चर्कने क्रम रोकिएको छैन। अहिलेको वर्षात्मा मात्रै ठूलोलुम्पेक बसेरी गाउँका १२–१३ घर विस्थापित भएको वडा सदस्य अर्जुन तरामुले बताए।
विस्थापित भएकाहरु अस्लेवाका विभिन्न घरहरुमा भाडा लिएर बस्दै आएका छन्। २० घर परिवार रहेको बसेरी गाउँ नै चर्किएर भासिन थालेपछि थुप्रैले घर छाड्ने क्रम चलिरहेको तरामुले जानकारी दिए। केही परिवार भने जोखिम मोलेर गाउँमै बसेका छन्।
‘एक बर्षसम्म पूर्ण क्षति भएका सबैलाई पनि ओत दिन सकिएन–तरामुले भने–कार्यविधि, जग्गा व्यवस्थापन र लकडाउनको कारणले समस्या पर्यो।’