काठमाडौँ । गर्मी याम सुरु भएसँगै देशभर डढेलो लाग्ने क्रम बढ्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो १४ दिनमा मात्र दुई हजार बढी स्थानमा डढेलो लागेको छ ।
प्राधिकरणका उपसचिव एवम् डढेलोविद् सुन्दर शर्माका अनुसार अन्य वर्षको तुलनामा यस पटक धेरै स्थानमा डढेलो लागेको छ । २७ वर्ष नेपालका जङ्गलमा लागेको डढेलोको अध्ययन गर्नुभएका शर्माले अन्य वर्षको तुलनामा यस वर्ष डढेको सङ्ख्या बढी देखिएको बताउनुभयो । एकै दिन एक हजार स्थानमा डढेलो लागेको तथ्याङ्क रहेको उहाँले बताइनुभयो ।
उहाँले भन्नुभयो, “यसपालि गत वर्षको तुलनामा बढी डढेलो लागेको छ । केही दिनअघि देशभर २४ घण्टामै एक हजार बढी स्थानमा डढेलो लागेको रेकर्ड पनि छ । यो ज्यादै चिन्ताको विषय हो ।” सन् २०२३ मा हालसम्म दुई हजार ३६ स्थानमा डढेलो लागिसकेको छ । गत वर्ष देशभर एक हजार ५२८ स्थानका जङ्गलमा डढेलो लागेको थियो । सन् २०२१ मा यो सङ्ख्या एक हजार २११ थियो । सन् २०१९ मा यो सङ्ख्या दुई हजार ९९० थियो ।
यस वर्ष डढेलो लाग्ने पिक समय आउन बाँकी नै रहेकाले डढेलोको सङ्ख्या अझ बढ्ने सम्भावना रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यस वर्ष १४ दिनमा नै दुई हजार बढी स्थानमा डढेलो लागिसकेको छ । अझै डढेलो लाग्ने पिक समय वैशाख र जेठ बाँकी नै रहेकाले डढेलोको सङ्ख्या अझ बढ्ने देखिएको छ ।”
डढेलो सम्बन्धी २७ वर्ष लामो आफ्नो अध्ययनमा यस्तो अवस्था अन्य कुनै वर्षमा नआएको उहाँ बताउनुहुन्छ । केही दिनअघि मात्र वायु प्रदूषण मापन गर्ने स्विट्जरल्याण्डको आइक्यु एयरको तथ्याङ्कले काठमाडौँ सहर विश्वमै बढी प्रदूषित सहरको सूचिमा राखेको थियो । वायु प्रदूषणको प्रमुख कारण पनि देशभर लागेको डढेलोलाई लिइएका थियो ।
देशभरका जङ्गलमा लागेको डढेलोको अवस्था हेर्दा सबैभन्दा बढी तराई क्षेत्रमा लागेको छ । भने पहाडमा तराइको तुलनामा कम देखिएको छ । हिमाली क्षेत्रमा न्यून सङ्ख्यामा रहेको छ । डढेलो नियन्त्रणमा नेपालमा पर्याप्त अग्नि नियन्त्रक यन्त्र नभएका कारण पनि डढेलोलाई समयमै नियन्त्रण गर्न नसकिएको शर्माको भनाइ छ ।
उहाँले भन्नुभयो, “नेपालमा पर्याप्त अग्नि नियन्त्रक यन्त्रको अभाव रहेको छ । त्यसकारण पनि समयमै डढलो नियन्त्रण गर्न सकिएको छैन । डढेलो नियन्त्रणमा लिन प्रहरी, सेना तथा स्थानीयको नै भर पर्नुपर्ने अवस्था छ ।” डढेलो नियन्त्रणका लागि नेपालमा जनशक्ति र स्रोत साधन पनि नभएको शर्माले बताउनुभयो । डढेलो नियन्त्रणमा स्थानीयलाई मात्र प्रयोगमा ल्याउनु ज्यानको जोखिममा पार्नु मात्र भएको उहाँको दाबी छ ।