पाल्पा । पाल्पामा श्रीमानको मुक्का प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन्।
रामपुर नगरपालिका–४ गिजिङडाँडाका २५ वर्षीय भूमबहादुर सोमैले श्रीमती १८ वर्षीया खगिसरा सोमैलाई कुटेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए। घाइते खगिसराको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरेको छ।
टाउको र अनुहारमा गम्भीर चोट लागेको उनलाई आइसियूमा राखेर उपचार गरिएको छ। कुटपिट गर्ने भूमबहादुरलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रोजगारीको शिलशिलामा विदेश गएका भूमबहादुर घरमा फर्किएलगत्तै श्रीमतीलाई परपुरुषसँग मिलेको भन्ने शंका गर्दा आपसमा विवाद भएको थियो।
विवादले उग्ररुप लिएपछि उनले कुटपिट गरेको प्रराम्भिक बयानमा खुलेको प्रहरीले जनाएको छ। उनले असोज ९ गते निर्घात कुटपिट गरेका थिए। यद्यपि घट्नाबारे केही दिनपछि थाहा भएको र लगत्तै दशैँ बिदा परेकोले मंगलबार मात्र मुद्दा दर्ता गरी अदालत उपस्थित गराएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए।