बुटवल–बुटवल स्थित धागो कारखानामा रहेको कोरोना (कोभिड १९) विशेष अस्थायी अस्पतालमा (आईसियु) सघन उपचार कक्ष निर्माण सुरु भएको छ।
कोरोनाका संक्रमित भएर आएका शख्त अवस्थाका बिरामीको उपचारका लागि आइसियु बनाइन थालिएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले जानकारी दिए। उक्त कोरोना बिशेष अस्थायी अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा निर्माण गरी सञ्चालन गरिएको हो।
कोरोना विशेष अस्पताल रहेको धागो कारखानाको पुरानो प्रशासनिक भवनमा २० सैयाको आइसीयु निर्माण गरिने लक्ष्य रहेपनि तत्कालका लागि १० सैया बनाउने गरि तयारी सुरु गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए। उक्त निर्माण कार्य एक हप्तामा सम्पन्न गर्ने गरि काम सुरु गरिएको समेत उनले जानकारी दिए।
लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदेश सरकारले गठन गरेको आइसोलेशन अस्पताल निर्माण समिति लुम्बिनी प्रादेशिक अस्पतालका संयोजक समेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी सहितको बैठकले तत्काल आईसियु कक्ष सञ्चालन गर्ने निर्णय गरि काम सुरु गरिएको अध्यक्ष भट्टराईले बताए।
आईसियु सञ्चालनका लागि बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ४ थान सैयाको भेन्टिलेटर, सक्सनलगायतका सामग्रीसहित जडान गरिदिने छ, भने बाँकी ६ सैया र आवश्यक उपकरणका लागि तत्काल टेण्डर गरि जडान गरिने छ।
आइसियु कक्ष निर्माण स्थलको मन्त्री गिरी सहित बिज्ञ प्राबिधिक र स्वास्थ्यकर्मीहरुको टोलीले निरिक्षण गरि निर्माण कार्य अघि बढाउन उपयुक्त हुने ठहर गरेको थियो। त्यस अवसरमा मन्त्री गिरीले आवश्यक सबै प्रक्रिया पुर्याएर समयमै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिए।
उक्त अस्पतालमा नेपाल विद्युत प्राधिकरणद्धारा लो भोल्टेज र उपकरणहरूको सञ्चालनलाई प्रभावकारी बनाउन सहयोगमा १ सय केभिएको ट्रान्सफर्मर जडान गरिएको छ।