वरिपरि हरियाली अनि शान्त ठाउँ। चराचुरुंगीको चिरविर आवाज। गजेडी दानापुर ताल आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बनेको छ। पछिल्लो समय परिवार र साथीभाइ सहित घुम्न दानापुर ताल आउने क्रम बढेको छ। रुपन्देहीको कञ्चन गाउँपालिकामा पर्ने तालमा डुंगा सयर गर्दै आनन्द लिन सकिन्छ। यो ताल पूर्वपश्चिम राजमार्गको बाँसगढीदेखि केही दक्षिणमा पर्छ। पहिलो पटक दानापुर तालमा आउनेलाई यहाँको वातावरणले मनै लोभ्याउँछ। जाडो मौसम विशेष गरी बिदाका दिन दानापुर तालमा वनभोजको लागि आउनेहरुको भीड लाग्ने गर्दछ।
दानापुर तालको पर्यटकीय विकासको लागि १० वर्षे गुरुयोजना समेत बनाइएको छ। ६० मिटर अग्लो भ्युटावर, तालको बीचमा आइल्याण्ड जलभूमि, ताल वरिपरि घुम्न मिल्ने खालको सडक, नजिकका बस्तीमा होम स्टे लगायत गुरुयोजनामा समेटिएको छ। समयमाई सामुदायिक वनले दानापुर तालको व्यवस्थापन गर्दै आएको छ। सामुदायीक बनकै आयोजनामा तालको थप विकास र पर्यटन प्रवर्द्धन गर्न अहिले कञ्चन गजेडी दानापुर ताल महोत्सव चलिरहेको छ। महोत्सव फागनु १३ गते सम्म चल्ने छ।