आमा र छोराछोरी बीचको सम्बन्ध सालनालको सम्बन्ध हो । यो सम्बन्ध अलि गाढा र प्राकृतिक हुँदो रहेछ । त्यसरी नै आमाले छोराछोरीलाई गर्ने माया मातृवात्सल्य हो । यो यति गहिरो हुन्छ कि त्यो कुनै पनि शब्दले व्याख्या गर्न सकिदैन ।
कुनै आमालाई आफ्नै आँखा अगाडि आफ्ना प्रिय छोराछोरी विछोड हुनु प¥यो भने हृदयमा पीडा आवेगको यति हुँडलो मच्चिन्छ कि त्यो पीडा धान्न नसकेर बेहोस हुन्छन् ।
वास्तवमा आमा छोराछोरीको विछोड असाध्य पीडादायी हुँदो रहेछ । कोभिड लागेर असाध्य भएको अवस्थामा हामी आमाको सम्भावित मृत्युको त्रासले भयभीत हुन्थ्यौं । त्यो दुखद दिन टुप्लुक्क आइपुग्यो । आमा आमा भन्दा भन्दै वैशाख ६ गते हामीलाई छोडेर महापरिनिर्वाण प्राप्त गर्नु भयो । अब त उहाँको विम्ब र उहाँले प्रयोग गरेका सामानहरु मात्र छन् ।
यो वर्ष ग्रह पनि लस्कर लागेर आयो । म मेरो श्रीमती र आमा संक्रमणमा प¥यौं । उता ठीक त्यसै समयमा छोरी इन्दिरा भैरहवाबाट बुटवल दिपनगरतिर आउँदा बीच बाटोमा नराम्रोसँग मोटरसाइकल एक्सिडेन्टमा परिन् ।
नातिनी इदाको हात क्र्याक भयो । ज्वाई दामोदरलाई मानसिक चाँप प¥यो । छोरी इन्दिरालाई हामी भेट्न जान पनि सकेनौं । संक्रमित भएपछि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराउन ओपिडीमा पुग्यौ । हामीमा खोकी मात्र थियो । कोभिडका अन्य लक्षणहरु देखिएनन् ।
शरीर दुख्ने, टाउको दुख्ने, खानाको स्वादमा फरक केही थिएन । यही लक्षणका आधारमा डाक्टरहरुले सामान्य सङक्रमण भन्दै ५ दिनको दबाई दिए । ५ दिनपछि झन अवस्था नाजुक भयो । फेरि पनि त्यही नै पुग्यौ । डक्टरले कोभिड हैन भन्दै फेरि केही दबाई फेरबदल गरी ५ दिनको डोज दिए । अवस्था अरु कमजोर भएकोले त्यो औषधी खान नै छोडिदियौं । म यो बीचमा ३ पटक फेन्ट भएँ।
त्यो समयमा बुटवलको प्रदूषणको मात्रा नेपालका सबै सहरहरु भन्दा ज्यादा थियो । डढेलो, धूँवा धूलोले आकाश मलिन थियो । सूर्य पनि चहकिला थिएनन् । पृथ्वी मलिन हुँदै जाँदा आमा पनि बिरामी भएर मलिन देखिनु भयो । उहाँमा पनि खोकी नै थियो । खाना खान छोडिदिनु भयो । चैत्र १८ गतेदेखि अलि च्यापेको हुनाले उहाँलाई नाति प्रदीप आचार्यले बुटवल स्थित पुष्पा फार्मामा डा. हरिप्रसाद पन्थीसँग पु¥याए । म पनि साथमा गएँ । अर्घाखाँचीका मालारानी बाँगीका डा.हरिप्रसाद पन्थी एमबिबिएस, एमडी गोल्ड मेडलिस्ट हुन् । यही कारण उनीसँग हाम्रो परिवारको सम्बन्ध बन्यो ।
डा.हरिप्रसाद पन्थीले आमाको कोभिड टेस्ट गर्न पठाए र छातीको एक्सरे लिए । उहाँमा निमोनियासहित कोभिड पोजेटिभ देखिएपछि हामीमा पनि कोभिड भएको पक्का भयो । आमालाई लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिक आइसोलेशन वार्डमा पु¥यायौं । त्यसै समयमा विमला आचार्यले जचाउँदा थाइराइड फेला प¥यो । उनलाई थाइराइड बढेर ३६ भएको रहेछ । त्यसले उनी निकै गलेकी थिइन् । त्यसमाथि खोकी लागेको थियो ।
उनको अवस्था ज्यादै नाजुक बनेको थियो । खोक्दाखोग्दै दुबै कोखा दुखेका थिए । शरीरको तौल घटेको थियो । अक्सिमिटरले अक्सिजन नाप्ता भने ९६ भन्दा कम भएन । म ८८ सम्म भरेको थिएं । तर श्वासप्रश्वासमा समस्या आएको थिएन । हामी थकित र गलित अवस्थामा पुग्यौं । आमामा कोभिड देखिएपछि म र विमलाले पनि छाती एक्सरे लियौ । हामीमा पनि न्यूमोनिया रहेछ । घरमा भने शुरुदेखि नै शंकाको कारण आइसोलेशनमा बसेका थियौं । १८ गते पछि म न्यूमोनियाको औषधी लिदै आमाको उपचारार्थ लागें ।
हामीलाई संक्रमणको लक्षण देखिएको १५ दिनभन्दा ज्यादा भइसकेको थियो । मैले संक्रमित भएको कारण आमाको सेवामा लागि रहें । त्यो काममा बहिनी सुष्मा ज्यादै खटेर लागिन् । उनलाई संक्रमण हुन्छ कि भन्ने त्रास थियो । तर उनको रोगप्रतिरोध क्षमता बढी रहेछ । त्यो समयसम्म म अलि खान सक्ने सुस्त सुस्त हिंड्न सक्ने भएको थिएँ । मैले अस्पतालको चमेना गृहमा सजकता अपनाएर खाना खाँदै आमाको हेरचाहमा आइसोलेशन वार्डभित्रै आमासँग बसें ।
आमामा शुरु शुरुमा अक्सिजन लेभल ९३ थियो । २ लिटरसम्म झरेको अवस्थाबाट उहाँलाई ६ लिटर सम्म पु¥याइयो । अब थप उपचारको लागि आमालाई धागो कारखानाको कोभिड अस्पतालको आइसियूमा पुराउनु प¥यो ।
आमालाई छ्रैटौं दिन २४ गते धागो कारखानामा पु¥याइयो । उहाँलाई अक्सिजनको मात्रा ९३ माथि राख्नको लागि १५ लिटर अक्सिजन दिनु पर्ने अवस्था आयो । त्यसले पनि नभए भेन्टिलेटरमा लैजानु पथ्र्यो । यता बुटवलको धागो कारखानामा पुगेपछि बाँचिदैन भन्ने हल्ला थियो । तर पनि संवेदनामैत्री संरचना नभए पनि अस्पतालको अवस्था बाहिर प्रचार गरेकोजस्तो खराव रहेनछ । त्यस बीचमा धागो कारखानाबाट उपचार पाएर फिभर क्लिनिक आइशोलेसन वार्डमा फर्की आएका केही बिरामीहरुले धागो कारखानाको कोभिड अस्पतालको विषयमा सकारात्मक प्रशंसा गरेको सुनेको थिएँ । उनीहरुले धेरै राम्रो सुविधा छ भनेका थिए । यस कुराले पनि आमा बचाउन सकिन्छ भन्ने आशा लाग्यो ।
धागो कारखाको कोभिड अस्पतालमा आइसियू १५ बेड छन् । सात भेन्टिलेटर सुविधा छ । अन्य चालीस बेड छन् । यो अस्पतालको उद्देश्य कोरोना पोजिटिभ विरामीलाई नेगेटिभ बनाएर पठाउनु हो । यहाँको प्रबन्धन पक्ष राम्रो छ ।
आठ आठ घण्टामा तीन सिफ्टमा डाक्टर नर्सहरु फेरिन्छन् । रातीको समयमा एउटा डाक्टरको साथमा ६ जना नर्सहरु हुन्छन् । अरु बेलामा चारजना नर्स र एकजना डाक्टर रहन्छन् । त्यसबेला डा. सुदर्शन थापाको निगरानीमा चलेको थियो, अहिले डा नन्दु पाठक छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.राजेन्द्र खनाल र अध्यक्ष सूर्यबहादुर भट्टराई र तत्कालीन सामाजिक विकाससमन्त्री सुदर्शन बरालको पहल र कोशिसले यो अस्पताल बनेको हो । डक्टरहरुले त्यहाँ जनशक्ति कम छ भन्दै थिए । हामीमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हुबहु चल्दा केही समस्या देखिएका छन् । संवेदनामैत्री संरचना नभएको हुनाले आइसियूबाट मृत्यु वरण गरेकाहरुलाई अरु संक्रमितहरुले नदेखिने गरी व्यवस्थापन गर्न सकिएको रहेनछ । त्यसैको कारण हो कि यो अस्पतालमा निकै कोशिसका बाबजुद मृत्युदर ज्यादाचाहिं छ ।
सायद आमाले घर छोडेको १४औं दिन हो । उक्त दिन राती मेरो आमा नजिकैको आइसियूमा रहेको एकजना बिरामीको मृत्यु भएको देखेर झस्किदै निकै चिच्याउनु भएछ । उहाँको अस्वभाविकपनका साथ नाति प्रदीपलाई बोलाओ भन्दै चिच्याएपछि डाक्टर नर्सहरु आत्तिए । उनीहरुले रुद्र र प्रदीपलाई फोन गरे । त्यसपछि म, प्रदीप, रुद्र र गीता त्यतातिर लाग्यौं । डाक्टरसँग आमाको विषयमा जानकारी लियौं । आमालाई भिडियोकलबाट कुराकानी गर्ने प्रबन्ध मिलाउन रुद्रले फोन सेट त्यही छोडे । हामी घर आएर भिडियोकलमा आमासँग विमला, प्रदीप र म देखिएर सामान्य कुराकानी ग¥यौं । त्यसपछि दुई दिनसम्म आमामा संवेगात्मक सन्तुलन देखियो । परिवारका सदस्यहरु नदेखेपछि पुनः संवेगात्मक सन्तुलन कायम रहन सकेन । आमा बडबडाउने, रुने, चिच्याउने गर्न थाल्नु भयो ।
५ गते कोभिड चेक गर्ने कुरा थियो । कोभिड चेक गरेपछि नेगेटिभ निस्केको खण्डमा आमालाई घर ल्याउने धोको थियो । तर दुर्भाग्य फेरि पनि पोजेटिभ निस्कियो । अब हामीमा पनि बिछोडको भयले निराशाको बादल मडारिन थाल्यो । आमा सम्झेर आँसु रसाइरह्यो । मलाई मुटुमा पीरको गाँठो परेर मुटु फुट्छ झै भयो । आमा आमा भन्दाभन्दै न्यूमोनियाले अरु आकार फैलाउँदै गयो । आमामा रोगप्रतिरोध क्षमता ओह्रालो लाग्दै गयो । वैशाख ६ गते दिउँसो १२ बजे कालो दिन जीवनको साँधसीमा काट्दै सदाको लागि आँखा चिम्लनु भयो ।
हामीले कोभिड अस्पतालमा तयार पारेका संरचनाहरु संवेदनामैत्री भएनन् । मान्छे जैविक मात्र हैन, सामाजिक र सांस्कृतिक प्राणी पनि हो । जनावरमा संवेदना सीमित हुन्छ । मान्छेमा संवेदना ज्यादा हुन्छ । त्यसैले मानिसमा संवेगात्मक उहापोह ज्यादा हुन्छ । आवेगका छालहरु उम्लन्छन् । यसले मानसिक विचलन पनि ल्याउँछ ।
कोभिड अस्पतालमा मान्छेजस्ता नलाग्ने पिपिइ लगाएका नर्सहरु सर्याङ्गसर्याङ्ग गर्दै हिंडिरहेका छन् । को हुन् को हु्न् चिनिएको छैन । घर जान्छु भन्दा कोहीपनि लिन आउँदैन न त चिनेकै मानिस छन् । अब माया मारेछन् मलाई लिन आएनन् भन्ने पिरले संक्रमितहरुमा बाँच्ने आशा मर्दोरहेछ । लामो समयसम्म बस्नु पर्दा असाध्य झर्को लागेर आउँछ । बीच बीचमा मानिसहरु मरिरहेको दृश्यहरु देखिन्छन् । यस्तो दृश्य देखेपछि बाँच्ने आशा हराउँदो रहेछ ।
जब बिरामीको मृत्यु हुन्छ त्यो मृत्युको समाचार सुनेर आफन्तहरु आउँछन् । डेढ दुई घण्टापछि प्लाष्टिकले बेरेर बाहिर ल्याउँदा मृतकका पति, पत्नी, छोराछोरीहरु आफन्तहरु शोकाकूल बन्दै चिच्याउन थाल्छन् । त्यो कोलाहलको दारुण आवाजभित्रैसम्म सुनिन्छ । त्यसले भित्र रहेका बिरामीहरुमा कस्तो प्रभाव पर्ला ? यस्तो संरचनामा त मानिस हकान्निएर मर्छन् । यसमा ध्यान दिन सकिएको रहेनछ । हुन त मेरो आमा बाँच्ने आशा थिएन । अवस्था नाजुक बन्यो । तर मर्नुअघि छोराछोरी र आफन्तसँग भेट्न नपाउँदा र लिन आओ लिन आओ भन्दै रहेको अत्यासलाग्दो अवस्था थाहा पाएर पनि हामीले गुहार दिन सकेनौं ।
हामी भावविह्वल भयौं । हाम्रा आँखाबाट बर्खे भेलझै आँसु मात्र चुहिरहे । कोभिडको मापदण्डले आमालाई भेट्नसम्म दिएन । मृत्युको समयमा तिलानी जलसम्म खुवाउन पाइएन । नजिकै पुगेर चरणकमलमा बिदाईको साष्टाङ्ग दण्डवत गर्दै श्रद्धान्जलीसम्म दिन पाइएन । यही बीचमा म संवेदित भएको छु । ममा यही कारण हृदयको अतल गहिराइमा पिर र चिन्ताको हुँडलो मच्चिरहन्छ । मलाई घर लैजाओ घर लैजाओ शब्दले चसचस घोचिरहन्छ । आँखामा आसु छचल्किरहन्छ ।
आमाले वैशाख ६ गते १२ बजे संसार छोडेको दुखद समाचार पहिलोपटक रुद्रले दिए । झिनो आशाको तन्तु थियो त्यो पनि छिन्यो । हामी हतारहतार त्यहाँ पुग्यौं । थुप्रै आफन्तहरु आइपुग्नु भयो । हामी लगभग ३ घण्टासम्म बस्यौं । करिव ४ बजे आमालाई बाहिर ल्याइयो । स्टेचरमा सेतै प्लाष्टिकमा बाँधिएको अवस्थामा आमा आउनु भयो । मुख खुला थियो ।
आमा भन्दै निहुरिएर परैबाट नमस्ते गरें र फूल चढाएँ । बल्लतल्ल धूपकाँटी सल्काएर आमातिर फर्केर धूप नचाउँदै थिएँ । आमाको मुख हेर्दाहेर्दै एक्कासी पीडाको ज्वालामुखी फुट्यो । म थचक्क बसेर असाध्य रोएँ । मुटुमा गाँठो पर्यो । विमला, सुष्मा, प्रदीप, निरु, इन्दिरा, रुद्र गीता, कृष्ण, तारा दामोदर लगायतसबै रोयौं । हुन त रुनु पनि मानसिक औषधी हो । यसबाट पीडा प्रकट हुन्छ । रुन सकिएन र हृदयभर पीरको हुँडलो मच्चिरह्यो भने त्यसले असर पार्छ । हृदय रोग लाग्न सक्छ । प्रकृतिले निरोग बनाउन आफै व्यवस्थापन गर्छ ।
विडम्बना ! हामीहरु जति रोए पनि आमाका सबै ज्ञानेन्द्रीयहरु निष्क्रिय भइसकेका थिए । आमाको आँखाले देख्ने थिएन । आमाको कानले सुन्ने थिएन । दिमागले थाहा पाउने थिएन । त्यो बेलामा आमाका चरण कमलमा साष्टाङ्ग दण्डवत गर्दै अँगालो मारेर रुन मन लाग्यो । तर कोभिडको कठोर मापदण्डले दिएन । नर्सहरु रोक्दै थिए । केहीछिनपछि बर्खा बिदो भएझै रुवाई मत्थर भएपछि हेक्का आयो, हामीहरु रोएको कोलाहल भित्रसम्म पुगेको होलाकि ? भित्र अरु बिरामीलाई असर प¥यो होला कि ?
धेरैले काल सम्बन्धी अलौकिक धारणा राख्छन् । हामी लौकिक भएको हुनाले प्रकृतिवादी यथार्थवादमा आधारित भएर सोंच्छौं । त्यसलाई सामाजिक सांस्कृतिक मूल्यहरुले लेपन गरेर सुन्दर र मानवीय बनाउँछौं । यही सुन्दर पक्ष नै धर्म संस्कृति हो । अलौकिकहरु आयो टप्प टिपी लग्यो टारेर...भन्दै काल महिमा गाउँछन् । वास्तवमा काल बाहिरबाट टिप्न आउँदैन । काल त भित्रैबाट आउँछ । हाम्रो जीवनको श्वासप्रश्वासको महत्वपूर्ण अंग फोक्सोमा न्यूमोनियाले कब्जा गरेपछि त्यसले काम गर्न छोड्छ । त्यसले काम गर्न छोडेपछि मुटु, कलेजो, किड्नीलगायत सँगको सहकार्य तोडिन्छ ।
आपसी सहकार्यबाट उत्पन्न चेतनशक्ति स्वतः विलय हुन्छ । अनि आमा बिदा हुनु भयो । अब वर्षेनी आमाको श्राद्धमा विधिपूर्वक पूजा गरी सम्झने मात्र रह्यो ।
मलाई कोभिडको मापदण्डले जन्मदाता आमाको नजिक जान दिएन । जीवनभर माया दिएर हुर्काउनु भएकी आमाको नजिक जान पाइन । मलाई कोभिडको मापदण्ड संवेदनहीन लाग्यो । मृतकबाट सर्ने कम सम्भावना हुने हुँदा सरकारले प्लाष्टिकले लोमेर सुरक्षितपूर्वक दाहसंस्कार गर्न दिनु पर्छ । यसमा सुधार हुनु पर्छ ।
समाजले पनि सुरक्षितपूर्वक घाटमा दाह संस्कार गर्न दिनु पर्छ । मेरो आमामा परेको प्रत्यक्ष प्रभाव मानसिक आघात हो । यसले उहाँलाई विचलित बनायो । यो समस्यालाई सुधार गर्न सकिन्छ । यो समस्या बिरामीहरुलाई थाहा नहुने गरी व्यवस्थापन हुनु पर्छ । बिरामीलाई भित्र पस्ने ढोका र मृतकलाई बाहिर निकाल्ने ढोका फरक हुनुपर्छ ।
मृतकलाई बिरामीले नदेखिने गरी फरक कोठामा लगेर प्लाष्टिकले लोम्नु पर्छ । भित्रका कतिपय कुराहरु हामीले देख्न नपाई अनुमान लगाउँदा व्याख्यामा फरक पनि पर्ला । तर हामीलाई भित्रको अवस्था हेर्ने अवसर दिनु पर्छ । यो कुरा हामीले डाक्टर विशालसँग राख्यौं । उनले आमामा परेको मानसिक आघातको सन्दर्भमा अलि अलि फरक त भइहाल्छ नि भन्दै सपाट उत्तर दिए ।
कोरोना विशेष आइसियूमा एक्लै बाह्र बाह्र दिन कटाउन कति गाह्रो भए होला ? डाक्टर र नर्सहरुले सकेसम्म खुसीको वातावरण बनाउन प्रयास गरेका थिए। उनीहरुले आफन्तसँग फोन गराउने, भिडियोकल गराउने काम गरिरहेका थिए । उनीहरु रोगसँग रिस्क लिएरै कोभिड संक्रमितहरुलाई सेवा दिइरहेका छन् ।
हामी प्रायः चार पाँज बजेतिर जान्थ्यौं । डाक्टरहरुले कम्युटर स्क्रिनबाट आमाको गतिविधि देखाउँथे । हामी आमालाई कहिले निश्चल अवस्थामा सुतेको देख्थ्यौं । कहिले हात चलाएको र कोखो फेरेको देख्थ्यौं । अनि अक्सिजन लेभलदेखि लिएर उहाँको गतिविधि बारेमा डाक्टरहरुले बताउँथे ।
आमामा प्लाज्मा थेरापीपछि रोग प्रतिरोध क्षमता बढेको छ भन्ने सुनिएको थियो । फोक्सोमा न्यूमोनिया भए पनि अन्य संवेदनशील अंगहरुमा कुनै असर परेको थिएन । आमा बाँच्नु हुुन्छ कि भन्ने लाग्थ्यो ? तर बाँच्न सक्नु भएन । बचाउन सकिएन । आमा जानु भयो ।
मेरो छोरा प्रदीप आचार्यले शुरुमै फिभर क्लिनिक आइसोलेशन वार्डमा भर्ना गर्दा भनेका थिए, बुबा हामी सचेत नागरिक हौं । हाम्रा पनि आफ्ना कर्तव्यहरु हुन्छन् । हाम्रो राम्रो पहुँच छ । तर पहुँचकै आधारमा डाक्टर नर्सहरुलाई कतैबाट दबाब नदिऊँ । डाक्टर नर्सको स्वाभिमानलाई असर पार्ने काम नहोस् । हामीले उहाँहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनु पर्छ ।
बुहारी निरु गौतमले पनि यो विचारलाई थप सबल बनाइन् । हामीले मेसु डा. राजेन्द्र खनाल र अध्यक्ष सूर्यबहादुर भट्टराईलाई थाहा पनि दिएनौं । हामीले आमालाई ६ दिनसम्म आइशोलेशन वार्डमा राखेर उपचार गर्दा आमाको अवस्थामा कुनै परिवर्तन आएन । त्यसपछि डा.हरिप्रसाद पन्थीकै सल्लाह र सहयोगमा धागो कारखाना स्थित कोभिड अस्पतालमा पु¥याइयो । त्यहाँ आमाले थप १२ दिनसम्म मानसिक कष्ट खेपेर बस्नु प¥यो ।
आमाको हेरचाहमा मेरो छोरा प्रदीप आचार्य र निरु गौतम निकै खटे । रात बिरात भनेनन् । समयमा औषधी पु¥याउने, आमाले मीठो मान्ने खालका केही सूपहरु पुर्याउने काम गरे । हामी दुवै जना म र विमला आचार्य पनि असाध्य कमजोर बनेका थियौं । बहिनी सुष्मा अर्याल र तारा अर्याल ज्वाईले निकै खटेर लाग्नु भयो । सुष्माले त कोभिडको प्रवाह नै नगरी आमाको निरन्तर सेवा गरिन् ।
उता रुद्र आचार्य र गीता आचार्यले दिनरात खटेर लागे । भानिज कृष्णले हरदम ध्यान दिनु भयो । हामी सबै आमाको सेवामा लाग्यौं । आफन्तहरुका पीर र चिन्ताका सन्देशहरुको ओइरो लाग्यो । फोनहरु आइरहे । सकेसम्म रेस्पोन्स गरिरहें । कोभिडको त्रासको जालो तोड्दै प्रत्यक्ष भेटघाटमा आफन्तहरु आइरहनु भयो । यसले सहानुभूति पाएको अनुभव भयो ।
आमा राम्रोसँग फर्केर आउनु होला भन्ने आशा थियो । तर १५ दिनपछि आमामा रोगसँग लड्ने क्षमतामा ह्रास आयो । आमाले पटक्कै खाना खान सक्नु भएन । आमाको श्रवण शक्ति ७० प्रतिशत डेमेज भएको थियो । उहाँसँग सुस्त सुस्त बोलेर सुन्न सम्भव थिएन । दोहोरो संवाद हुन नपाउँदा पनि एक्लोपनाले सतायो । परिवारका सदस्यहरुको अनुहार देख्न पाइएन । अर्कातिर खाना नखाएर कमजोर हुनु भएको थियो । उहाँमा रोग विरुद्ध लड्ने क्षमतामा कमी आउँदै थियो । विस्तारै अस्ताउँदै जानु भयो । हाम्रो केहीसीप लागेन ।
आमा शान्त हुनुहुन्थ्यो । सीमासम्म धैर्य रहन सक्नुहुन्थ्यो । जीवनभर मैले उहाँ रिसाएको कहिल्यै देखेको थिइन । रिसग्रन्थि शल्यक्रिया गरेर फ्याकेजस्तो थियो । सबैलाई समान व्यवहार गर्ने हुनाले पनि आफन्तहरुका लागि निकै प्रिय हुनुहुन्थ्यो । म आमाको व्यवहारबाट खुसी थिएँ । आमाको शान्त र शालीन व्यवहार उहाँकै नाति प्रदीप आचार्यमा सरेको छ । आमाले बुद्धका अष्टाङ्गिक मार्ग र पञ्चशील सिद्धान्त पढ्नु भएन तर व्यवहारमा पूरै लागू गर्नु भयो । जीवनमा छोराछोरी नाति नातिनीको कति माया हुन्छ भन्ने दृष्टान्त जीवनको अन्त्यसम्म देखाउनु भयो ।
आमा र बुवाले २०२२ सालमा सिलाङबाट मलाई घर ल्याउँदा बटौलीबाट भरियालाई बोकाएर ल्याएको एउटा अल्मोनियमको कालो बाक्सा छ । त्यो बाक्साको उमेर ५६ वर्ष भयो । बाक्सा मभन्दा दुईवर्ष कान्छो छ । उक्त बाक्सा आमाले अन्तिमसम्म प्रयोग गरिरहनु भएको थियो । त्यही बाक्सामा आमाका स्मृतिका चिन्हरु उहाँले पछिल्लोपटक लगाएका कपडाहरु, जुत्ता, तस्वीरहरु, उहाँका केही अभिनन्दन पत्रहरु, गहनाहरु, काँगियो, डोरी, ऐना, गहनालगायतका सामानहरु संग्रह गरी राखेका छौं ।
अब आमा सदाका लागि जानु भयो । यो प्रकृतिको नियम हो । हामी चाहेर जन्मेका हैनौ । बूढो हुने चाहना छैन । मर्ने चाहना त पटक्कै थिएन । यी सब कुराहरु माने मान नमाने नमान म तेरो मेहमान भन्दै जबर्जस्त आउँछन् । हामी विवश छौं ।