काठमाडौँ – रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीमा छ साताअघि भएको घटनामा बञ्चरोले हानेर ६ जनाको हत्या गरी भेरी नदीमा फालिएको निष्कर्ष संसदीय समितिले निकालेको छ।
घटनाबारे छानबिन तथा अनुसन्धान गर्न गठित संसदीय विशेष समितिले मृतक युवाहरुलाई समातेर एकपछि अर्को बञ्चरोले हानेर हत्या गर्दै खोलामा फालिएको ठहर गरेको हो।
मंगलबार नौ सदस्यीय छानबिन समितिका तर्फबाट संयोजक देवेन्द्र पौडेलले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवेदनमा घटनाको मुख्य कारण अन्तरजातीय सम्बन्ध नै भएको उल्लेख छ।
समितिका एक सदस्यका अनुसार हत्या सामूहिक र योजनाबद्ध भएको निष्कर्ष समितिले निकालेको छ। प्रतिवेदनमा उल्लेख भएको बुँदा उल्लेख गर्दै ती सदस्यले भने, ‘घटनाको मुख्य कारण अन्तर जातीय सम्बन्ध नै हो। ६ जना युवालाई सामूहिक र योजनाबद्ध रुपमा हत्या गरिएको हो। बञ्चरोले हानेर मारिएको रहेछ। आधा घण्टाभित्र उनीहरुलाई मारेर भेरीमा फालिएको हो।’
छानबिन समितिले घटनास्थलमा प्रहरी आइपुगेकाले थप युवाहरुको मृत्यु नभएको उल्लेख गरेको छ।
‘आधा घण्टाको अवधिमा प्रहरी नपुगेको भए थप ११ जनाको पनि ज्यान जाने सम्भावना रहेछ,’ घटनास्थल पुगेका समितिका सदस्यले भने। मृतकमध्ये केही युवाको मुखमा कपडा कोचेर समेत हत्या गरिएको छानबिन समितिको निष्कर्ष छ।
घटनाबारे संसदमा कुरा उठेपछि जेठ २६ गते संसदले पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, प्रकाश रसाली स्नेही, विमला विक, पार्वतीकुमारी विशुंखे, महेश्वर जंग गहतराज, मीन विश्वकर्मा र राम साहायप्रसाद यादव रहेका छन्। समितिलाई दिइएको ३० को समय अवधिभित्रै प्रतिवेदन बुझाएको हो।
रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका ८ स्थित सोतीमा जेठ १० गते अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा ६ जना युवाको मृत्यु भएको थियो। घटनामा संलग्न २३ जना जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका छन्।