काठमाडौं। राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ ।
जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताउनुभयो ।
बिहिबार साँझ पक्राउ गरिएका तीनै कार्गो तथा कुरियर सेवा दिने कम्पनीका सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन । उहाँका अनुसार पक्राउ परेका तीनसहित अहिलेसम्म उक्त सुन प्रकरणमा १० जना पक्राउ परेका छन् ।
त्यसमध्ये छ जनालाई उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । बिहिबार दिउँसो पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनालाई भने आज म्याद थप गरिने जनाइएको छ ।