बुटवल– भदौ २९ गते बिहान रुपन्देहीको ओमसतिया गाउँपालिका ५ का ४२ बर्षिय महेन्द्र चौधरीमाथि भैरहवाको बैंकबाट पैसा निकालेर घर फर्किदै गर्दा गोली प्रहार भयो ।
बाटोमै २ जना आए, रोके र गोली हाने । साथमा रहेको ५ लाख रुपैयाँ, नागरिकता, चेकबुक लिएर उनीहरु भागे । महेन्द्रको त्यहीँ मृत्यु भयो ।
गतवर्षको मंसिर ७ गते कपिलवस्तु शुद्धोधनका राजाबाबु भनिने दीपेन्द्र कुमार चौधरीको हत्या भयो । सामान्य रिसइबीमा उनको हत्या भयो । यस्तै ०७५ जेठ २ गते कोटहीमाई गाउँपालिका ४ का ४१ वर्षीय घर निर्माण गर्ने मजदुर रामकेश धवलको हत्या भयो ।
धवलको हत्यामा नलकटुवा पेस्तोलले प्रयोग भएको थियो । यसरी सहजै नेपाल भित्रिने साना हतियारका कारण सीमावर्ती क्षेत्रमा अपराध बढेको छ ।
गतवर्ष पुस २९ मा प्रहरीमाथि गोली चलाएपछि इन्काउन्टरमा मारिएका रुपन्देही सिद्धार्थनगर–६ का केदार साहनीको साथबाट युएसए अटोमेटिक पेस्तोल फेला प¥यो । चर्चित गुण्डा नाइके मनोज पुनको इन्काउन्टरका समयमा पनि प्रहरीले अटोमेटिक पेस्तोल बरामद भएको बताएको थियो ।
भारतमा सहजै पाइने यस्ता हतियारका कारण नेपाली भूमिमा अपराधको आँकडा बढ्दो छ । प्रहरी अधिकारीका अनुसार सानातिना समूहले चन्दा असुल्नका लागि धक्याउने, तर्साउने, लुटपाट गर्नेदेखि व्यक्ति हत्यासम्मका घटनामा साना हतियार प्रयोग भएका पाइएका छन् ।
भारतसँग जोडिएका जिल्लामा हुने अधिकांश अपराधमा भारतमै निर्माण हुने साना हतियार प्रयोग हुने गरेको प्रहरीहरु बताउँछन् ।
प्रदेश ५ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुवासविक्रम शाह खुला सिमाना र साना हतियार प्रहरीका लागि टाउको दुखाई भएको बताउँछन् । ‘खुला सीमाना छ, सीमापारि भारतमै बनेका र अरु मुलुकबाट आएका हतियार सजिलै किन्न पाइन्छन्, –उनी भन्छन्–ती हतियार नेपालमा सजिलै प्रवेश गर्छन्, खुला सीमाना भएकाले रोक्न सकिएको छैन ।’
भारतमा अपराध गरेर नेपाल आउन र नेपालमा अपराध गरेर भारत जान खुला सीमानाले अपराधीलाई सजिलो बनाएको छ । यसको अफ्ठ्यारो प्रहरीले झेल्नुपर्छ । ‘अपराधीहरु सडकको बाटो आउँदैनन्, खेत, झाडी भएर लुक्दै आउँछन्, यसले प्रहरीलाई कताबाट आयो र कता गयो भन्ने खोज्नै समस्या छ–उनले भने ।
प्रदेश ५ का तराईका जिल्लामा साना हतियारको प्रयोगबाट हुने अपराध बढ्दै गएको छ । संघीयता कार्यान्वयनको चरणमा संक्रमणको फाइदा उठाउँदै हतियारधारीहरु तस्करी र असुलीमा संलग्न देखिएका छन् । पछिल्लो एक वर्षमा बढ्दो हत्या घटनाले पश्चिम तराई फेरि अशान्त बन्दै गएको छ ।
प्रहरी संयन्त्र कमजोर बन्दा अपराध मौलाएको सरोकारवाला बताउँछन् । कतिपय तस्करी र असुलीमा प्रहरीकै संलग्नता देखिएकाले अपराध घटना झन रहस्यीमयी र त्रासदीपूर्ण बनेको छ । तराई क्षेत्रमा उद्योग चलाउने उद्योगी र प्रतिष्ठित व्यक्तिहरु साना हतियार र असुलीको चंगुलमा फसेका छन् ।
सामान तस्करदेखि हत्या धम्कीमा फिरौटी उठाउने काममा साना हतियार प्रयोग बढेको छ । अपराध र हतियारको विगबिगी हुदा सर्वसाधारणमा त्रास छ ।
व्यक्तिगत रिसइबीमा पनि हतियार प्रयोग हुनुले प्रहरीको निगरानी असफल जस्तै देखिएको छ । त्यसमाथि अपराधकर्म गरेर भारतमा लुक्न जाँदा अपराधी पक्रिन र कानुनी प्रक्रिया अघि बढाउन प्रहरीलाई सजिलो छैन । प्रहरी अधिकारीहरु भन्छन्–‘भारतको उत्तर प्रदेश र विहार राज्यका केही शहरहरूमा साना हतियार खुला रूपमै किन्न पाइन्छन्, त्यहाँबाट हतियार र सुटर आएर पनि अपराधिक गतिविधि गरेको देखिन्छ ।’ प्रहरी अधिकारीहरुका अनुसार यस्ता हतियार सिमावर्ती क्षेत्रमा ५ हजारदेखि ५० हजार रूपैयाँ सम्मका किन्ने गरेको हत्यामा संलग्न भइ पक्राउ परेका अभियुक्तहरु बताउँछन् ।
३ वर्ष अगाडि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या, एमाले कार्यकर्ता वसन्त पौडेल बलुको हत्यामा पनि कुख्यात अपराधी मनोज पुनले पनि भारतमा सहजै पाइने साना हतियार प्रयोग गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।
हतियारसँगै लागूऔषधका कारोबारी यस्ता काममा सक्रिय छन् । खुल्ला सीमा, डिजिटल चेकजाँचको अभाव, हतियारसम्बन्धी प्रभावकारी कानून नहुनु, सीमामा प्रभावशाली प्रविधिको अभाव, राजमार्गमा अपर्याप्त चेकिङजस्ता कारणले पनि हातहतियारहरु सहजै रुपन्देही, कपिलवस्तु, नवलपरासीबाट, पाल्पा हुँदै पोखरा, काठमाडौंसम्म पुग्छन् ।
सुरक्षा निकायले भने त्यस्ता हतियार पक्रिन नसकेको देखिन्छ । गोरुतस्करीदेखि ढुंगागिट्टी तस्करीमा प्रहरीका केही व्यक्तिले सहयोग पु¥याउँदा रुपन्देही, कपिलवस्तु र बाँकेमा हतियार र अपराध मौलाएको छ । साथमा हतियार हुनेले चन्दा फिरौतीको धन्दा चलाउँदै आएका छन् ।
अपराध बढ्दै जाँदा सर्वसाधारणमा त्रास छ भने उद्योगीहरु चन्दाबाट आजित भएका छन् । उनीहरुले प्रहरीबाट पनि सुरक्षाको अनुभुति गर्न सकेका छैनन् । ‘प्रहरीलाई खबर ग¥यो धम्की आउन छाड्दैन, चन्दा नदिए मार्छन कि भन्ने डर, लुम्बिनी क्षेत्रका एक उद्योगीले भने–व्यवसाय गरेर बस्न समेत कठिन भयो, को मान्छे कस्तो हो भन्नै सकिन्न ।’