लमजुङ : गोरखा भूकम्पले क्षति पुर्याएका १५६ विद्यालय भवन पुनःनिर्माण भएका छन् ।
विसं २०७२ वैशाख १२ गते शनिबार गएको भूकम्पले क्षति बनाएको १३१ विद्यालयका १५६ भवन पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाइ (शिक्षा) प्रमुख अशोक पराजुलीले जानकारी दिए ।
उनले भने, “हालसम्म ९९ प्रतिशत विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको छ । ” जिल्लामा ६९ शौचालय पुनःनिर्माण गर्नुपर्नेमध्ये ६८ सम्पन्न भएको छ ।
यसैगरी ३६ खानेपानी धारा पुनःनिर्माण गर्नुपर्नेमध्ये ३४सम्पन्न भएको छ । जिल्लामा विद्यालय भवन, शौचालय र खानेपानी गरी २६८ बनाउनुपर्ने मध्ये २५७ सम्पन्न भएको जनाइएको छ ।
उनले भने “हामीले जिल्लामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा सकाउने लक्ष्य राखे पनि बर्खायाममा विभिन्न ठाउँमा भत्किएको बाटो र विद्युतको समस्याले निर्माण सम्पन्न हुनसकेन ।
अब आगामी कात्तिक महिनाभित्र सबै काम सम्पन्न गर्नेछौँ । ” जिल्लामा विद्यालय भवन पुनःनिर्माण आर्थिक वर्ष २०७३/०७४ शुरु भएको थियो ।
उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनःनिर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेको थियो । जिल्लामा कूल ३५२ सामुदायिक विद्यालय रहेकोमध्ये १३१ विद्यालयमा भूकम्पले क्षति पुर्याएको थियो । सबै योजना विद्यालय व्यवस्थापन समितिमार्फत पुनःनिर्माण भइरहेको छ । रासस