बुटवल । बुटवल ७ दीपनगरको सिद्देश्वर माध्यमिक विद्यालय परिसरको मुल गेट बाहिर फराकिलो मैदान छ । सिद्देश्वर चौरको नामले चिनीने यो विद्यालयको आफ्नै जग्गा हो । शिद्देश्वर मावि र बुटवल उपमहानगरपालिकाबीच भएको सम्झौता अनुसार अबको केही महिना वा वर्षमा यो मैदान रंगशालामा रुपान्तरण हुने छ । बुटवल उपमहानगरपालिकाले रंगशाला बनाउनको लागि प्रक्रिया अघि बढाइसकेको छ । रंगशाला बनेपछि समय समयमा राष्टिय तथा क्षेत्रीय फूटबल प्रतियोगिता हुने छ । खेलको अवधिमा मानिसको भिडभाड र चर्को हुटिङ अनि माइकिङ अनिवार्य छ । यस्तो कोलाहल युक्त वातावरणमा सिद्देश्वर माविको शैक्षिक वातावरण कस्तो होला त ? बुटवल बहुमुखी क्याम्पसमा शिक्षा मनोविज्ञान पढाउने उपप्राध्यापक प्रकाश शर्मा पौडेल भन्छन् ‘पढाइमा बाधा पर्छ । बालबालिकाको ध्यानाकर्षण अन्यत्र जान्छ ।’
बुटवल उपमहानगरपालिकाको योजना अनुसार सिद्देश्वर चौरमा रंगशालाको लागि प्याराफिट बनेपछि त्यसमुनि व्यवसायिक सटरहरु पनि बन्ने छन् । साथै २ वटा बहुउदेश्यिय कबर्डहल बन्ने प्रस्ताव गरिएको छ । व्यवसायिक सटर र संरचना बनेपछि अहिलेको खुल्ला मैदानमा थप बजारीकरण र भिडभाड हुन्छ । यसले खेलकुद नहुँदा पनि विद्यालयका विद्यार्थीले कोलाहल बेहोर्नुपर्छ । विद्यालयहरुलाई सकभर शान्त ठाउँमा राख्नुपर्ने शिक्षा शास्त्री उपप्राध्यापक शर्मा बताउछन् । ‘विद्यालयलाई उद्योगको आसपास, ठूला आवाज आउने ठाउँहरु र मुख्य सडकको छेउछाउ राख्न उपयुक्त हुँदैन ।’ उनले भने ‘विद्यालय सामुन्ने रंगशालाल हुँदा ठूला–ठूला आवाज र माइकिङले पढाइमा अस्तव्यस्तता त हुन्छ नै ।’ कोलाहलयुक्त वातावरणले बालबालीकाको मानसिकसँगै शारीरिक समस्या पनि हुने शर्माले बताए ।
शहरका धेरै विद्यालय व्यस्त सडक नजिक नै छन् । ध्वनी प्रदुषण केही कम गराउन विद्यालय आसपासमा हर्न निषेधित गरिएको हुन्छ । बुटवलका पनि अधिकांस विद्यालय व्यस्त सडक र कोलाहलयुक्त वातावरणमै छन् । तिनको तुलनामा सिद्देश्वर मावि अहिले केही शान्त ठाउँमा छ । तर अगाडीको मैदानमा रंगशाला लगायतका संरचनाहरु बने भने सिद्देश्वर माविको शैक्षिक वातावरण अहिलेका अरु विद्यालयका भन्दा झन बढी विग्रने सम्भावना छ । खुल्ला वातावरणमा रमाएका बालबालीका कोलाहलयुक्त साँघुरिएको वातावरणमा बस्नु पर्दछ ।
रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले अबको विद्यालयमा पर्याप्त पूर्वाधारसँगै खुल्ला वातावरण पनि अति आवश्यक हुने बताउँछन् । ‘बरु थोरै समय विद्यार्थीलाई हिड्न परोस् । विद्यालयको वातावरण खुल्ला र कोलाहलमुक्त हुनुपर्छ’ उनले भने ‘अहिले बजार भित्र रहेका विद्यालयलाई पनि थप उकुसमुकुस बनाउन हुँदैन ।’ रंगशाला आफैंमा शहर भित्र राख्न नहुने थापाको तर्क छ । उनले शिद्देश्वर मैदानमा रंगशाला बनाउनुको सट्टा हरियाली वातवरण बनाउन सुझाब दिन्छन् ।
सिद्देश्वर मैदानलाई बुटवल उपमहानगरपालिकाले पाँच सात हजार दर्शक क्षमताको रंगशाला बनाउने योजना अघि सारेको छ । बुटवलको टुंडीखेल मानिने यो ठाउँ मासिएमा खुल्ला ठाउँको अभाव हुने छ । सिद्देश्वर चौरमा रंगशाला सहितको संरचना बन्दा एकातर्फ शहरको गतिलो खुल्ला ठाउँ मासिन्छ साथै सिद्देश्वर माविको शैक्षिक वातवरण पनि नराम्ररी विग्रने खतरा छ ।