बुटवल–लुम्बिनी नन् एकेडेमिक इन्स्टिच्यूट एशोसिएसनले आफ्ना संस्थाहरु सञ्चालन गर्न माग गर्दै सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ ।
एशोसिएसनका अध्यक्ष निलम अधिकारी नेतृत्वको टोलीले सामाजिक विकास मन्त्री सुदर्शन बराललाई ज्ञापनपत्र बुझाएका हुन् ।
एशोसिएसनले लकडाउन र कोरोना त्रासबाट आफ्ना संस्थाहरु ४ महिनादेखि बन्द भएको भन्दै घरभाडा मिनाह, कर मिनाह, छात्रबृत्ति अक्षय कोष निर्माण सहयोगार्थसहितको ७ बुँदे ज्ञापनपत्र सामाजिक विकास मन्त्री सुदर्शन बराललाई बुझाएको हो । एशोसिएसनले स्वास्थ्य सावधानी अपनाउँदै एक बेञ्च, एक विद्यार्थी राखेर अध्यापन संचालन गर्न समेत ज्ञापनपत्रमार्फत अनुरोध गरेको छ ।
औपचारिक शिक्षा प्रदान गर्ने स्कुल कलेजहरुले हाल सञ्चालन गर्दै आएका अनलाइन तथा प्रत्यक्ष कक्षाहरु तुरुन्त बन्द गर्न पनि माग गरेको छ । एशोसिएसनका सचिव प्रितम भुसालले शिक्षा क्षेत्रमा टेवा पुराउने इस्टिच्युटहरुलाई सरकारले वेवास्ता गरेको भन्दै औपचारिक शिक्षा प्रदान गर्ने विद्यालय कलेजलाई हेर्ने दृष्टिकोणमा इस्टिच्युटलाई पनि हेर्नुपर्ने बताए ।
ज्ञापनपत्र बुझ्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले छिट्टै इस्टिच्यूटहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । अझै पनि कोरोना संक्रमण र लकडाउन जारी रहेको भन्दै ज्ञापनपत्रमा उल्लेखित मागका सम्बन्धमा चरणबद्ध रुपमा छलफल गरेर निचोड निकाल्ने उनले बताए ।