सप्तरी: सप्तरीको कञ्चनरूप नगरपालिकाले विद्यालयमा छात्राहरूलाई बाँड्ने सेनेटरी प्याड खरीदमा लाखौं अनियमितता गरेको पाइएको छ ।
आर्थिक वर्ष २०६७/०७७ को महालेखा परीक्षक प्रतिवेदनअनुसार नगरपालिकाले बोलपत्रको माध्यमबाट ड्रग इन्टरनेशनल प्राइभेट लिमिटेडबाट सेनेटरी प्याड खरीद गरेको थियो । २२ लाख २३ हजार ८ सय ४० रूपैयाँमा २ लाख ६२ हजार ४ सय थान प्याड खरीद गरिएको देखिएको हो ।
नगरपालिकाले १८ विद्यालयका प्रधानाध्यापकलाई ३५ हजार ३ सय ९० थान प्याडमात्र वितरण गरेको विवरण महालेखा परीक्षकलाई भपाई पेश गरेको थियो ।
२ लाख २७ हजार १० थान पालिकासँग मौज्दात (बाँकी) रहकै अवस्था पुन:उज्वल फार्मेसीबाट ६ हजार १ सय २८ थान प्याड खरीद गरी ४५ हजार ९ सय १० रूपैयाँ भुक्तानी गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
२ लाख २७ हजार प्याड बाँकी रहेकै अवस्थामा कर्मचारीले पुन: प्याड खरीद गरि आर्थिक अनियमिता गरेको भन्दै महालेखा परीक्षकले सम्बन्धित कर्मचारीलाई जिम्मेवार बनाई आवश्यक कारवाहीका लागि प्रतिवेदनमार्फत औल्याएको छ ।
यता प्रधानाध्यापकले कति छात्रालाई उक्त प्याड वितरण गर्यो भन्ने भरपाईसमेत पेश गरेका छैनन् ।
पालिकाले आवश्यकताको वास्तविक पहिचान गरी खरीद गर्नुपर्नेमा मौज्दात रहनेगरी खरीद गरेको उल्लेख छ । वितरण गर्न बाँकी प्याडको गुणस्तरमा ह्रास आउने र म्याद समाप्त हुने हुँदा सम्बन्धितलाई जिम्मेवार बनाई आवश्यक कारवाहीसहित २२ लाख ६९ हजार ७ सय ५० रूपैयाँ बेरूजु ठहर गरेको छ ।
कोरोना महामारीका कारण यस आर्थिक वर्षमा विद्यालय चार महिनामात्र खुलेको थियो । यसकारण प्याड खपतको अवस्था न्यून देखिए पनि आर्थिक लाभ लिन प्याडको बजेटमा अनियमितता गरेको भन्दै स्थानीयले दोषी पत्ता लगाई कारवाही गर्न माग गरेका छन् ।