खोटाङ: रुखमा (टाँड) डेरा बनाएर अनलाइन कक्षामा सहभागी बनेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई आर्थिक सहयोग जुटेको छ ।
मोबाइल डाटा कनेक्ट गर्नका लागि अग्लो रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल बनेका छात्र मगरलाई सरस्वती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोरकुमार श्रेष्ठले नगद ४ हजार सहयोग गरेका हुन् ।
पूर्वप्रअ डिकबीर राईको राजीनामा स्वीकृत एवं निमित्त प्रअ नविन चाम्लिङलाई प्रअमा नियुक्त गर्न बिहीबार आयोजना गरिएको कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले छात्र मगरलाई आर्थिक सहयोग गरेका हुन् ।
छात्र मगरलाई आवश्यक शैक्षिक सामग्री खरीद एवं ट्युसन लगायतका अतिरिक्त अध्ययनका लागि शुल्क तिर्न नगद सहयोग गरेको विव्यास अध्यक्ष श्रेष्ठले बताए ।
यसअघि २९ भदौमा हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले मगरलाई मोबाइल चार्ज गर्न एक थान व्याकअप, एक थान झोला, एक थान ठूलो डिक्सनरी, ५ थान कपी र १ थान डायरी प्रदान गरेकी थिइन् । रुखमा डेरा बनाएर अध्ययनमा इच्छा शक्ति देखाएका मगरको जताततै चर्चा चलिरहेको छ ।
कोभिड–१९ को महामारीका कारण भौतिक उपस्थितिमा पठन–पाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशनअनुसार विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दा छात्र मगर सिम्लेस्थित घरनजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए ।
छात्र मगरले घर वरपर मोबाइल डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी भएको बताए । हाल उनी सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
विद्यालयले २४ साउनदेखि अनलाइन कक्षाका माध्यमबाट पठन–पाठन सुरु गरेको थियो । तर, अर्खौलेको नवलपुर सिम्लेमा मोबाइलको डाटा बल्लतल्ल कनेक्ट हुन्छ ।
कनेक्ट भइहाले जुम एप्स चलाउन सम्भव थिएन । कमजोर कनेक्सनकै कारण धनकुमार ८/९ दिनसम्म अनलाइन कक्षमा सहभागी हुन सकेनन् । पढाई छुट्दा अत्तालिएका धनकुमारले डाटा कनेक्ट हुने ठाउँ खोज्दै जाँदा रुखलाई भेट्टाएको बताए ।
पढाईप्रति मगरले देखाएको लगाव र आकर्षणको उच्च प्रशंसा भइरहेको छ । कक्षामा धनकुमार दोस्रो स्थानमा छन् । छात्रले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगाव र इच्छाशक्तिले गर्व महसुस गराएको सरस्वती मावि अर्खौलेका प्रअ चाम्लिङले बताए ।
सरस्वती माविमा कक्षा ६ देखि कक्षा १० सम्मको पठन–पाठन अनलाइन माध्यमबाट सञ्चालन भइरहेको अवस्थामा २९ भदौदेखि भौतिक उपस्थितिमै पठन–पाठन सञ्चालन गराइएको छ ।