रुपन्देही । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम सहकुलपति देवेन्द्र पौडेलले सरकारले शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्ने बताउनुभएको छ ।
विश्वविद्यालयहरूबाट उत्पादित जनशक्तिहरु देश विकासमा जोडिने वातावरण निर्माण हुन आवश्यक रहेको बताउँदै उहाँले शिक्षा मन्त्रालयमार्फत सरकारले शिक्षातर्फको बजेट बढाउदै लगेको सन्दर्भमा त्यसको उपलब्धि विश्वविद्यालयमार्फत प्रतिबिम्बित हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।
लुम्बिनीमा आज आयोजित लुम्बिनी बौद्ध विश्ववद्यालयको द्धितीय दिक्षान्त समारोहमा बोल्दै उहाँले बौद्ध शिक्षालाई आधुनिक शिक्षासँग जोड्दै नैतिकवान जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय विद्यार्थीहरु स्वदेश तथा विदेशको प्रतिष्पर्धात्मक श्रम बजारमा सहजै खपत हुनसक्ने बताउँदै मन्त्री पैडेलले साथै नेपालमा उपलय स्रोत र साधनको प्रयोग गरी आर्थिक रूपमा आत्मनिर्भर बन्न र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुयाउन सक्षम हुनुपर्ने आवश्यकता टड्कारो देखिएको उल्लेख गर्नुभयो । “त्यसका लागि शैक्षिक गुणस्तरीयतामा विश्वविद्यालयले सम्झौता गर्नुहुँदैन । विकृति, विसङ्गति, अन्याय, अत्याचाररहित समाज निर्माणका लागि नैतिक शिक्षा अपरिहार्य छ”, उहाँले भन्नुभयो ।
बौद्ध शिक्षालाई आधुनिक शिक्षासँग जोड्दै नैतिकवान जनशक्ति उत्पादनमा जोड दिनुपर्ने र यसका लागि विद्यालय, महाविद्यालयमा बौद्ध शिक्षा अध्यापन गराउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
“मुलुकमा अनेकौं पुरातात्विक क्षेत्रहरू रहेकाले तिनको उत्खननका लागि आफ्नै मुलुकका जनशक्ति प्रयोग अपरिहार्य छ । कपिलवस्तुको तिलौराकोट क्षेत्र, नवलपरासीको रामग्राम क्षेत्र लगायत लुम्बिनीकै पनि अझै धेरै उत्खनन् बाँकी नै छ । यी उत्खनन् लुम्बिनी बौद्ध विश्वविद्यालयको जनशक्ति प्रयोग हुनुपर्छ”, उहाँले भन्नुभयो ।
पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको मुलुकमा अभाव रहेकाले लुम्बिनीसहित बौद्ध साइटहरूमा बौद्ध विश्वविद्यालयका जनशक्तिले गाइडका रूपमा काम गर्ने वातावरण निर्माण गर्दै जानुपर्नेमा मन्त्री पौडेलले जोड दिनुभयो ।
“बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई बौद्ध शिक्षा, साहित्य, कला, इतिहासको अध्ययन–अध्यापन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञिक अन्तक्रियाको केन्द्र बनाउने ध्येयलाई भुल्नु हुँदैन”, उहाँले भन्नुभयो ।