रुपन्देही । प्याब्सन बुटवलले आयोजना गरेको अन्तर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कुल विजयी भएको छ ।
१९ प्रतिष्पर्धी विद्यालयलाई पछाडि पार्दै ज्ञानपुञ्जले उपाधि चुमेको हो । त्यस्तै क्यानन बोर्डिङ स्कुल द्धितीय भएको छ । तृतीय र सान्त्वना क्रमसः एभरेष्ट इङलिस बोर्डिङ स्कुल र दीप बोर्डिङ हाई स्कुल भएका छन ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले संस्थागत विद्यालयको विकासमा नगर सधै तयार रहेको बताउनुभयो । उहाँले निजी विद्यालयमैत्री ऐन कानून निर्माण गरी लगानी आकर्षित गर्ने वातावरण बनाउन नगरको ढोका सधै खुला रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले राज्यले संस्थागत र सामुदायिक विद्यालयलाई विभेद गरेको गुनासो गर्नुभयो । उहाँले बुटवलमा सबै विद्यालयमा सेनेटरी प्याडको व्यवस्था मिलाउन नगरप्रमुखलाई आग्रह समेत गर्नुभयो ।
प्याब्सन बुटवलका अध्यक्ष कूलानन्द पाण्डेले गुणस्तरीय शिक्षा प्रदान गरेका संस्थागत विद्यालयको योगदानको कदर हुनुपर्ने बताउनुभयो ।