गुल्मी-सडक छेउँमा उभिएका चार बालक। काँधमा पाइप। थकित अनुहार। चार महिनादेखि बिद्यालय गएका छैनन्। अभिभावकको आँखा छल्न पाए दैनिक खेलेरै दिन बिताउँछन्। बर्खाको समय भएकाले पनि बुबा आमा घर खेतको काममा व्यस्त छन्।
बालबालिकाले लामो समय विद्यालय नगएपछि पढाई मात्र नभएर विद्यालयको नाम समेत बिर्सन थालेका छन्। सडकमा खेलिरहेका किस्मत बमरेलले झट्ट विद्यालयको नाम भन्न सकेनन्। उनीसँगैका साथीहरु पनि विद्यालयको नाम भन्न अकमकाए।
रुरु क्षेत्र गाउँपालिका ५ की १३ वर्षीया साजना र अमृता गन्र्धव खरबारीबाट घर फर्कैदै थिए। करीव पाँच महिना भए उनी विद्यालय नगएको। उनीहरुले दैनिक घरको कामसँगै एक मुठा घाँस काट्छन्। साजनालाई पनि सजिलै विद्यालयको नाम सम्झन मुस्किल पर्यो। धेरैबेर अक्मकाइन्, विद्यालयको नाम नै आएन।
साजनाले तीन कक्षामा पढ्छिन्। बुवा परदेश पसेर घर नफर्केको धेरै वर्ष भए। आमा पनि घरमा छैनन्, बाग्लुङ्गका विभिन्न ठाउँमा ज्याला मजदुरीका लागि गएको साजना बताउँछिन्। हजुर आमासँगै बसेकी उनी कक्षामा चौथो हुन्छिन्।
उनलाई कहिले विद्यालय खुल्ला भन्ने लागेको छ। उनले बिहान साँझ किताब हेर्ने जमर्को पनि नगरेकी होइनन्, तर चाहेको जस्तो घरको परिस्थिति पनि छैन। उनकै छिमेकी १० वर्षीया अमृता गन्र्धवले कक्षा दुई मा पढ्छिन्। गाउँका विपन्न बालबालिकालाई विद्यालय बन्द भएपछि अभिभावले काममा लगाउने गरेका छन्।
कोरोना संक्रमणको कारण बाध्यताले थुप्रै बालबालिका विद्यालय जान सकेका छैनन्। विद्यालय क्वारेन्टिन भए। सरकारले सञ्चालन गरेको वैकल्पिक शिक्षा सहजीकरण पनि प्रभावकारी भएन।
विपन्न बस्तीहरुमा विद्युत पुगे तर उनीहरुसँग टिभी थिएनन। खुल्ला चौर र चौतारोहरुमा मौसमले साथ दिएन। आफुहरुले दुई दिन मात्रै वैकल्पिक सिकाई सहजिकरणको प्रयास गरेको हरि स्मृति प्राविको प्रध्यानाध्यापक इन्दिरा ज्ञवालीले बताइन्।
लामो समय विद्यालय बन्द भएपछि विद्यार्थीको पढाई प्रभावित मात्रै भएको छैन, घरमा उनीहरुलाई व्यस्थापन गर्न नसकेर अभिभावक पनि समस्यामा परेका छन्। विपन्न बिद्यार्थी अरु बेला पनि काम मै व्यस्त हुने गर्छन्। अभिभावकहरु पनि सचेत नभएका कारण विद्यालय सञ्चालन हुँदा जेनतेन स्कुल पठाउनेहरु अहिले बालबालिकालाई काममा बढी लगाएको स्थानीय हिरा बहादुर पल्लीले बताए।