रुपन्देही । रुपन्देहीको तिलोत्तमा–५ मा रहेको नमुना माध्यमिक विद्यालयले नेपालमै पहिलो पटक अटिजम विद्यालय सञ्चालनमा ल्याएको छ ।
लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले अटिजम भवनको आज उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खाँले सबैखाले बालबालिकाको शिक्षामा पहुँच हुनुपर्ने बताउनुभयो ।
उहाँले अटिजम भएका बालबालिकाहरुलाई उचित जीवनशैलीका साथ विशेष शिक्षा, रेखदेख, उपचारको आवश्यक व्यवस्था मिलाउन मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले यस्ता बालबालिकाको जीवनयापन सहज बनाउन आवश्यक पर्ने स्रोत साधनका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले अटिजमलाई समयमै चिन्न वा पत्ता लगाउन सकेमा नियन्त्रणका लागि कदम चाल्न सजिलो हुने बताउनुभयो । पछिल्लो समयमा आमा बुबाको व्यस्त जीवनशैलीका कारण बालबालिकालाई भुलाउने क्रममा दिईने मोबाईका कारण पनि अटिजम हुने गरेको उहाँको भनाइ छ ।
अटिजम केयर सोसाईटी लुम्बिनीका अध्यक्ष सतिस रुपाखेतीले अटिजम आफैमा विशेष अवस्था भएको बताउनुभयो । हेर्दा सामान्ने देखिने बालबालिकाहरुमा समेत अटिजमको समस्या हुने भन्दै उहाँले लामो समयको घुलमिल पछि मात्र समस्या थाहा पाउन सकिने उहाँले जानकारी दिनुभयो ।
शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले नेपालमै पहिलो अटिजम विद्यालय सञ्चालन गर्न लागिएको बताउँदै बालबालिकालाई विशेष प्रकारको शिक्षा दिनुका साथै समायोजन तथा सामाजिकीकरणका तालिम दिँदै पुनस्र्थापनाका कार्यक्रमहरु चलाइने उल्लेख गर्नुभयो ।
उहाँले त्यसका लागि आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराई दिन स्थानीय तह र प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।