रुपन्देही । चर्को शैक्षिक शुल्कको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) ले आज बुटवलका संस्थागत र सामुदायिक विद्यालयमा तालाबन्दी गरेको छ ।
आफ्ना पाँचबुँदे मागप्रति वेवास्ता गरेको जनाउँदै कालिका मानवज्ञान, कान्ति मावि, नविन औद्योगिक कदरबहादुर रीता मावि, न्यू होराइजन बोर्डिङ्ग स्कुलमा ताला लगाइएको संगठनका जिल्ला संयोजक पारस राहदी मगरले जानकारी दिनुभयो ।
विद्यालयहरूले माध्यमिक तहसम्म बिद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा तथा पाठ्यपुस्तक बापतको शुल्क लिन नपाइने व्यवस्था जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्ने, संस्थागत बिद्यालयहरूले लिइरहेका मनोमानी र चर्काे शुल्क नियन्त्रण गर्दै आम गरिखाने अभिभावकले तिर्न सक्ने शुल्क निर्धारण गर्नुपर्ने माग संगठनको छ ।
संगठनले विभिन्न माग राखेर स्थानीय शिक्षा शाखा र बिद्यालयहरूमा मागपत्र बुझाएपनि कुनै सुनुवाइ नभएका कारण अनिश्चितकालीन तालाबन्दी गरिएको अखिल (क्रान्तिकारी) संयोजक मगरले बताउनुभयो ।