बुटवल-प्रदेश ५ का १ सय ९ स्थानीय तहमध्ये ९९ वटा तहमा मात्र साक्षरता घोषणा भएको भएका छन्।
१० वटा स्थानीय तहमा साक्षरता घोषणा हुन नसक्दा प्रदेश ५ साक्षर प्रदेश घोषणा बन्नबाट रोकिएको छ।
प्रदेश सरकारले नीति कार्यक्रम र बजेटमा आर्थिक बर्ष २०७५/०७६ मा साक्षर प्रदेश घोषणा गर्ने कार्यक्रम राखेको भएपनि अहिलेसम्म साक्षर घोषणा हुन सकिरहेको छैन।
बाँकेमा ८ वटा स्थानीय तहमध्ये अझै ४ वटा र कपिलवस्तुमा १० वटा तहमध्ये ४ वटा मात्रले घोषणा गरेका छन् ६ वटा तहले घोषणा गर्न बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
स्थानीय तहहरुले शिक्षामा कम चासो दिने र संघीय सरकारले स्थानीय तहको जिम्मेवारी भएको ठान्ने भएकाले बाँकी रहेका स्थानीय तहहरुमा साक्षरता घोषणा गर्न नसकिएको शिक्षा निर्देशनालयको भनाइ छ।
साक्षरता घोषणा हुन नसकेका पालिकाले निरक्षरको तथ्यांक, कर्मचारी र कार्यक्रमको अभाव झेलिरहका छन्। मन्त्रालयका अनुसार बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर, बैजनाथ, र डुडुवा गाउँपालिका तथा कपिलवस्तुमा कृष्णनगर, महाराजगञ्ज, कपिलवस्तु नगरपालिका तथा यशोधरा, मायादेवी र विजयनगर गाउँपालिका साक्षरता घोषणा हुन बाँकी रहेका छन्।
सामाजिक विकास मन्त्री सुदर्शन बरालले अहिले साक्षरता घोषणाभन्दा पनि कोभिडको रोकथाम, नियन्त्रणमा बढी केन्द्रीत भएको भन्दै कोरोनाको संक्रमण न्यून भएपछि र कोरोना त्रास हटेपछि साक्षरता कार्यक्रमलाई अगाडि बढाउने बताए।