बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुलाई निर्देशन दिनुभएको छ।
मंगलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा शहर बनाउनुपर्ने बताउनुभयो।
माध्यमिक तहको भर्ना शुरु हुनुअघि आयोजित छलफलका क्रममा उहाँले विद्यार्थीहरुलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न दिनका लागि निर्देशन दिनुभयो।
उहाँले विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याब, शिक्षकको दरबन्दीलाई ध्यानमा राखेर मात्रै विद्यार्थी भर्ना गर्न आग्रह गर्नुभयो।
नयाँ विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षाका नाममा शुल्क नलिन र भर्ना तथा शिक्षण शुल्कजस्ता विद्यार्थीबाट लिने शुल्कमा वृद्धि नगर्न नगर प्रमुख पाण्डेयले आग्रह गर्नुभयो।
उहाँले विद्यालयले आफ्नो क्षमताअनुसार आफै तय गरेका मापदण्डभित्र रहेर भर्ना गर्न र विद्यार्थीलाई पढ्न पाउने अवसरबाट बञ्चित नगर्न आग्रह गर्नुभयो।
बुटवललाई शिक्षाका क्षेत्रमा अब्बल बनाउनका लागि सामुदायिक विद्यालयहरुको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले बुटवलबाट अन्य क्षेत्रले सिक्ने गरी व्यवस्थापन गर्न आग्रह गर्नुभयो।
आगामी दिनमा समय र आवश्यकताअनुसार नगरको शिक्षा ऐन परिमार्जन गर्दै विद्यालय शिक्षालाई अझ बढी स्तरीय बनाउदै लैजाने प्रतिबद्धता उहाँले जनाउनुभयो।
उहाँले विद्यालयहरुको सुधारका लागि नगरले शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउँदै यसले विद्यालयहरुको शिक्षामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो।
बुटवल उपमहानगरपालिकाले यस वर्षदेखि विद्यालयस्तरबाट खेलाडी उत्पादनमा जोड दिदै नगरभित्रका विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेकोले त्यसको तयारी गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख मित्रमणि खनालले विद्यालयस्तरको शिक्षामा सुधारका लागि सबै विद्यालयहरु एउटै नियम र पद्धतिमा चल्न आग्रह गर्नुभयो। उहाँले विद्यालयमा अनुशासन र विधिको पालनामा जोड दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा उपस्थित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुले विद्यालय सुधारका लागि प्रतिबद्ध रहेको बताउनुभयो। उहाँहरुले विद्यालय शिक्षा सुधारमा नगरले थप लगानी गर्न आवश्यक रहेको बताउनुभयो।