बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु गरेको छ । देवदहमा रहेको करिव एक सय विगाहा क्षेत्रफलमा विश्वविद्यालयका पूर्वाधारहरु निर्माणका लागि विस्तृत गुरुयोजना बनाएको छ ।
गुरुयोजना अन्तर्गत पहिलो चरणमा विश्वविद्यालयले रु ७ करोड १६ लाख २९ हजारको लागतमा २ तले शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु गरेको हो । विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्टार डा. तिलकराम आचार्यले विश्वविद्यालयका लागि प्राप्त जग्गामा गुरुयोजना अनुरुपका संरचना निर्माण थालिएको बताउनुभयो । निकै दौडधुपकाबीच विश्वविद्यालयले झण्डै सय विगाहा जग्गा प्राप्त गरेको भन्दै निरन्तर रुपमा गुरुयोजना निर्माणको कार्य चलिरहने बताउनुभयो ।
भवनको आइतबार देवदहमा आयोजित एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सदस्य एवं पूर्वमन्त्री छविलाल विश्वकर्मा, इन्टरनेशनल बुद्धिष्ट कन्फिडेरेशनका महासचिव भन्ते धम्मपिया, अखिल नेपाल भिक्षु महासंघ अध्यक्षका भिक्षु सोभनले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । सो अवसरमा बोल्दै प्रमुख अतिथि विश्वकर्माले विश्वविद्यालयको स्थापनाले देवदहको पुरातत्वको अध्ययन अनुसन्धान तथा स्थानीयको जीवनोपयोगी शिक्षा प्रदानमा सफलता मिल्ने बताउनुभयो ।
बौद्ध धर्म दर्शनको विकासमा रहेर विश्वविद्यालयले देवदहमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाले बताउनुभयो । सांसद विश्वकर्माले विश्वविद्यालयको विकासमा देवदहबासीले सहयोगी भएर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्यले विश्वविद्यालयले बुद्धको मावली क्षेत्रमा बौद्ध शिक्षा सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गर्नुभयो । विश्वविद्यालयका लागि आवश्यक जग्गा प्राप्तीमा आफ्नो पनि योगदान रहेको भन्दै उहाँले शैक्षिक गुरुयोजना अन्तर्गत काम गर्र्दै जानुपर्ने बताउनुभयो ।
त्यस्तै देवदह नगरपालिकाका नगर प्रमुख धुब्र खरेलले देवदहमा विश्वविद्यालय स्थापना हँुदा नगरको विकासमा महत्वपूर्ण टेवा पुगेको बताउनुभयो । उहाले विश्वविद्यालय स्थापनाले देवदहबासीले आफ्नै नगरमा उच्च शिक्षा हासिल गर्ने मौका पाएको बताउनुभयो ।
कार्यक्रममा देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्री, वडा नम्बर ८ का वडाध्यक्ष हरि पाण्डे, विश्वविद्यालयका डिन उकेशराज भुजु लगायतले बोल्नुभएको थियो ।
विश्वविद्यालयले हाल देवदहमा विकास अध्ययन तथा प्रयोगिक विज्ञान संकाय अन्तर्गतका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । विश्वविद्यालयले विस्तृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणका कार्य निरन्तर गरिरहने योजना रहेको जनाएको छ ।
डिन कार्यालय अन्तर्गत चालु शैक्षिक सत्रबाट स्नातक तहमा विकास उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न लागिएको छ । यो कार्यक्रम सञ्चालनपछि देवदहमै स्नातक तहदेखि स्नातकोत्तर तहसम्म अध्ययन गर्न सक्नेछन् ।