बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले संयुक्त रुपमा स्नातक तहमा हस्पिटालिटी एण्ड टुरिजम विषय प्राध्यापन शुरु गरेका छन् ।
दुई विश्वविद्यालयको संयुक्त डिग्रीको कक्षा सञ्चालन लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा गर्ने भएको हो ।
संयुक्त डिग्रीको शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शुक्रबार बुटवलमा आयोजिक एक कार्यक्रमकाबीच सार्वजनिक गर्नुभएको हो । सो अवसरमा बोल्दै राज्यमन्त्री प्रमिला कुमारीले पर्यटन विषयमा दक्ष जनशक्ति उत्पादनका लागि दुई विश्वविद्यालयले शुरु शैक्षिक कार्यक्रम कोशेढुंगा सावित हुने बताउनुभयो ।
बौद्ध दर्शन र पर्यटनलाई जोडेर शैक्षिक जनशक्ति उत्पादन गर्दा मुलुकको पर्यटन विकासमा ठूलो उपलब्धी हासिल हुने उहाँको विश्वास छ । उच्च शिक्षाको गुणस्तरीयताका लागि विश्वविद्यालयहरुले विशेष ध्यान दिनुपर्ने बताउदै उहाँले अन्तर्राष्ट्यि प्रतिष्पर्धी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले शिक्षा सुधारका लागि शिक्षा ऐन संसदमा आउन लागिरहेको भन्दै उनले ऐन जारी भएपछि शिक्षामा आमुल सुधार हुने विश्वास गरिन ।
कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्टार डा. तिलकराम आचार्यले काठमाडौं विश्वविद्यालयसंगको सहकार्यमा पर्यटन क्षेत्रका लागि आवश्यक सीपयुक्त जनशक्ति उत्पादनका लागि यो कार्यक्रम शुरु गरिएको बताउनुभयो ।
गत असार २१ गते सहकार्य सम्झौता भई एक महिनाभित्रमै शैक्षिक कार्यक्रम सार्वजनिक गरिएको भन्दै यस कार्यक्रमलाई सफल बनाउने दायित्व सबैको रहेकोमा उनले जोड दिए ।
उच्च शिक्षाको गुणस्तरीयतामा राज्यका नेतृत्वकर्ताहरुको विशेष ध्यान जान नसकेको उल्लेख गर्दै उनले विश्वविद्यालयका सभाहरु समेत समयमा हुन नसक्दा महत्वपूर्ण कार्यहरु अलपत्र पर्ने अवस्था आउन नहुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालयका विषय समिति अध्यक्ष उज्ज्वल सत्यालले विश्वविद्यालयहरु खाली भइरहने अवस्था आएको भन्दै अव सीपयुक्त जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले विशेष ध्यान दिनुपर्ने बतााउनुभयो । यो शैक्षिक कार्यक्रमले बजारको आवश्यकतालाई पूर्ति गर्ने विश्वास व्यक्त गर्नुभयो ।
। त्यसले यहाको पर्यटन विकासमा टेवा पुग्नेछ ।’
लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुले विश्वविद्यालयहरुबीच टिमवर्कमा कार्य गर्नु आवश्यकता रहेकाले काठमाण्डौं विश्वविद्यालयसंग सहकार्यमा शैक्षिक कार्यक्रम शुरु गरिएको बताए । शैक्षिक कार्यक्रम सञ्चालनका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयसंग निरन्तर सहकार्य भइरहने उनले बताए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का दिपेन्द्र पहारी, लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसका प्रमुख फणीन्द्र कुमार न्यौपाने, उपप्राध्यापक डा. दिपक प्रसाद आचार्य लगायतले बालेका थिए । कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय टुरिजम विषय समितिका अध्यक्ष श्रीप्रसाद भट्टराईले हस्पिटालिटी र टुरिजम विषयको विषयमा जानकारी गराएका थिए ।
नया शुरु गरिएको कार्यक्रममा यसै शैक्षिक सत्रबाट भर्ना शुरु गरिने जनाइएको छ । बुटवलको सिटी क्याम्पसमा पठनपाठन हुने दुई विश्वविद्यालयबीच सहमति भएको छ ।