बुटवल-राष्ट्रिय बाल दिवस, २०७७ को अवसरमा सोमबार सामाजिक विकास मन्त्रालयले निबन्ध प्रतियोगिता तथा शुभकामना आदान प्रदान गरेको छ। मन्त्रालयले आयोजना गरेको बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसर विषयक प्रदेश स्तरीय खुल्ला निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दे सामाजिक मन्त्री सुदर्शन बरालले बालबालिकाको संरक्षण प्रवर्द्धनको लागि सबैले प्रतिबद्धता व्यक्त गर्नु पर्ने बताए।
उनले प्रदेश सरकारले बालमैत्री संरचना, निति कार्यक्रमलाई आत्मसाथ गरको बताउँदै बालबालिकाको अन्तरनिहित प्रतिभाको उजागर संरक्षण र प्रवर्द्धन गर्न जरुरी रहेको बताए। आजका बालबालिका भोलिका कर्णधार भएको बताउँदै विपदमा बालअधिकारको सुनिश्चितता गर्नु सबैको साझा कर्तव्य हुने बताए।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव माहादेव पन्थ, शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख एवं उपसचिव थानेश्वर ज्ञवाली, सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल बेल्वासेलगायतले मन्तव्य व्यक्त गरेका थिए।
प्रतियोगितामा १२ वटै जिल्लाका १ सय २९ प्रतियोगी सहभागी थिए। प्रतियोगितामा पाल्पाका सेन मा वि कक्षा ९ का सविन ज्ञवाली प्रथम भए भने परिवर्तन २ रोल्पा जनसेवा नमुना मा विका कर्णबहादुर रानामगर दोश्रो र खजुरा बाँके ज्ञानोदय नमुना मा विका दीपशिखा भण्डारी तृतीय भए।
सिस्ने ३ रुकुमपूर्व जनता मावि जीवन खत्री, घोराही १८ दाङ श्री मा वि रझेनाकी प्रमिला कुँवर, सैनामैना रुपन्देही सैनामैना पर्रोहा परमेश्वर मा वि निकिता भण्डारी, सिस्ने ३ रुकुमपूर्व जनता मा विका पुष्पराज के सी, पाणिनी ७ अर्घाखाँची विद्याविनोद मा विका अंशु पौडेल, सुनवल ४ नवलपरासी रमवापुर माविकी अञ्जली विश्वकर्मा, ऐरावती २ प्युठान मोति मा वि आश्विना पाण्डे, बारबर्दिया ७ बर्दिया भृकुटी मावि सम्झना ज्योति, सुनवल नवलपरासी वागवाणी मावि लक्ष्मी खवास, सुनवल नवलपरासी महाकवि देवकोटा माविका अमृत पाण्डेले शान्त्वना स्थान प्राप्त गरे। प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय र सान्तवनाले क्रमस १५ हजार, १० हजार ७ हजार र २ हजार रुपैया र प्रमाणपत्र प्राप्त गरे।
सामाजिक विकास मन्त्रालय अन्तर्गतका ६ वटा सामाजिक विकास डिभिजनको आयोजना स्थानीय तहका विद्यालयको सहभागितामा जिल्ला स्तरीय विभिन्न प्रतियोगिता कार्यक्रम गरेका छन्। दिवसको अवसरमा निवन्ध, कविता प्रतियोगिता आयोजना गरिएको थियो।