बुटवल–बुटवलको देवीनगरमा रहेको लुम्बिनी वाणिज्य क्याम्पसमा सञ्चालित स्वायत्त कार्यक्रमहरुको परीक्षा तालिका सार्वजनिक भएको छ।
आज बसेको स्वायत्त परीक्षा सञ्चालक समितिको बैठकले एम.वि.ए.–वि.एफ. तेश्रो सेमेष्टरको परीक्षा २०७७ कार्तिक १७ गतेदेखि, एम.वि.ए.–बि.एफ. प्रथम सेमेष्टरको परीक्षा मंसिर ७ गतेदेखि र बि.बि.ए.–एफ.ए. दोश्रो सेमेष्टरको परीक्षा मंसिर ८ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।
भाद्र महिनामै हुनुपर्ने परीक्षा बढ्दो कोरोना संक्रमणका कारण हुन सकेको थिएन। अब ढिलो गरी भएपनि विद्यार्थीहरुको शैक्षिक क्यालेण्डरमा असर नपरोस् भन्ने उदेश्यले कार्तिकबाट परिक्षा सञ्चालन गर्न लागिएको क्याम्पसले जनाएको छ।
परीक्षा सम्बन्धी सूचनामा परीक्षा केन्द्र लुम्बिनी वाणिज्य क्याम्पस नै रहने उल्लेख छ। तोकिएको परीक्षा मितिमा कुनै आकस्मिक बिदा पर्न गएमा पनि क्याम्पसको जानकारी विना परीक्षा स्थगन नहुने बताइएको छ।
कोरोनाको जोखिमलाई ध्यान दिँदै उच्च सतर्कता अपनाएर भौतिक दुरी कायम गरी परीक्षा सञ्चालन गरिने क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
‘एक दिनमा एक तहको परीक्षा मात्र सञ्चालन गरिनेछ, परीक्षार्थीलाई दुई÷दुई मिटरको दुरीमा राखिन्छ र परीक्षा सकिएपछि परीक्षा हल निर्मलीकरण गर्छौं’–उनले भने–‘परिक्षार्थीले मास्क, पञ्जा अनिवार्य लगाउनुपर्ने छ, परीक्षा हलमा स्यानिटाइजरको व्यवस्था हुन्छ।’ विद्यार्थीहरुलाई परीक्षा सुरु हुनुपुर्व र पछि पनि समूहमा बस्न नदिइने क्याम्पस प्रमुख उपाध्यायले बताए।
लुम्बिनी वाणिज्य क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएपनि केही शैक्षिक कार्यक्रम स्वायत्तरुपमा सञ्चालन गरेको छ। जसको परीक्षा लगायतको व्यवस्था आफै गर्ने गरेको छ।