बुटवल–कोरोना महामारीका बीच रोकिएका शैक्षिक गतिविधिहरु बढ्न थालेका छन्। सरकारले लकडाउन तथा निषेधाज्ञा खुकुलो गरेसँगै शैक्षिक क्षेत्र जुर्मराउन थालेको छ। सरकारले असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने, शैक्षिक कार्यक्रम अघि बढाउने निर्णय गरेसँगै शैक्षिक गतिविधि बढ्न थालेको हो।
यस क्षेत्रमा कतिपय शैक्षिक संस्थाहरुले परीक्षा सुरु गरिसकेका छन्। केहीले परीक्षा तालिका प्रकाशित गरेका छन्। क्याम्पसहरुले पनि अध्यापकहरुलाई हाजिर हुन बोलाएका छन्। त्यस्तै केहीले नयाँ भर्ना पनि खोलेका छन्।
रुपन्देहीको लुम्बिनीमा रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयले गत आइतबारबाट परीक्षा सञ्चालन गरिसकेको छ। कोरोना महामारीका कारण स्थगित विश्वविद्यालयको स्नातक र स्नातकोत्तर तहको परीक्षा सुरु गरेको हो।
स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विद्यार्थीको घरपायक पर्ने स्थानमा परीक्षा केन्द्र तोकिएको र दुरी कायम गरेर परीक्षा सञ्चालन गरिएको विश्वविद्यालयले जनाएको छ। परीक्षाको लागि लुम्बिनी, बुटवल, नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, काठमाडौ र हुम्लामा केन्द्र तोकिएको छ।
त्यसैगरी बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले आफ्ना स्वायत्त कार्यक्रमको परीक्षा सञ्चालन गर्ने भएको छ। क्याम्पसले एम.वि.ए.–वि.एफ. तेश्रो सेमेष्टरको परीक्षा २०७७ कार्तिक १७ गतेदेखि, एम.वि.ए.–बि.एफ. प्रथम सेमेष्टरको परीक्षा मंसिर ७ गतेदेखि र बि.बि.ए.–एफ.ए. दोश्रो सेमेष्टरको परीक्षा मंसिर ८ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।
यस क्षेत्रका अन्य क्याम्पसहरुले पनि ५ गतेदेखि हाजिर हुन शिक्षकहरुलाई आग्रह गरेका छन्। बुटवल बहुमुखी क्याम्पसले असोज ४ गतेसम्म क्याम्पसकै सम्पर्कमा रहन र आवश्यक परे उपस्थित हुन आग्रह गरेको छ। ५ गतेबाट हाजिर हुन क्याम्पस प्रमुख खिमानन्द न्यौपानेद्वारा जारी सूचनामा भनिएको छ।
सिटीइभिटीइ आबद्ध शैक्षिक संस्थाहरुले पनि विभिन्न विषयमा भर्ना खोलेका छन्। प्राविधिक विषयको शिक्षालयको संस्था फोरम फर टेक्निकल साइन्स रुपन्देहीले सूचना प्रकाशित गरी भर्ना खोलेको जानकारी दिएको छ। जिल्लाका १४ वटा शैक्षिक संस्थामा सिटिइभिटीका विभिन्न कार्यक्रमको लागि भर्ना खोलिएको हो।
तिलोत्तमा २ शंकरनगरको एडभान्स स्टडी अफ हेल्थ साइन्सले स्टाफ नर्सको लागि भर्ना आह्वान गरेको छ। बुटवल जितगढीमा रहेको देउराली जनता प्राविधिक शिक्षालयमा स्टाफ नर्ससँगै कृषि जेटिए, भेटनरी जेटिएको लागि भर्ना खुलेको छ।
त्यसैगरी देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा स्टाफ नर्स र एचए, लिट्स कलेजमा डिप्लोमा इन फार्मेशी, डिप्लोमा इन ल्याब टेक्निसियन र एचए, क्रिमसन टेक्निकल कलेजमा डिम्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ, लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजमा स्टाफ नर्स, मायादेवी टेक्निकल कलेजमा स्टाफ नर्स, एच ए, डिप्लोमा इन फार्मेशी, डिप्लोमा इन ल्याब टेक्निसियनमा भर्ना खुलेको हो।
त्यसैगरी मेडिटेक इन्टरनेश्नल एकेडेमी प्रालिमा एचए र स्टाफ नर्स, रम्भादेवी मेडिकल एन्ड टेक्निकल कलेजमा एचए, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, सिभिल सब ओभरसियर, सञ्जीवनी कलेज अफ मेडिकल साइन्समा स्टाफ नर्स, शुभकामना टेक्नीकल कलेजमा स्टाफ नर्सका लागि भर्ना खुलेको छ।
वेस्टर्न हेल्थ साइन्स एकेडेमीमा डिप्लोमा इन ल्याब टेक्नोलोजी र लुम्बिनी इन्जिनियरिङ कलेजमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङको लागि भर्ना खुलेको छ।