भैरहवा–रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखाले गरेको निर्णयमा अनेरास्ववियू भैरहवा बहुमुखी क्याम्पस कमिटी सिद्धार्थनगरले आपत्ति जनाएको छ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ती निकालेर विद्यार्थी र अभिभावकको हित विपरित र निजी विद्यालयहरुको हितका लागि मात्रै निर्णय भएको जनाएको छ।
निर्णय कार्यान्वयन नगर्न र स्कुलहरुले सञ्चालन गरेको भर्ना कार्यक्रममा सहभागी नहुन अनेरास्ववियुले अनुरोध गरेको छ।
नगर शिक्षा समितिलाई २४ घण्टाभित्र निर्णय फिर्ता लिनुपर्ने माग अनेरास्ववियुले गरेपनि हाल सम्म नगरपालिकाले कुनै सम्बोधन गरेको छैन।
सम्बोधन नगर्ने देखिएपछि संगठनले बुधबारदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने सिद्धार्थनगर कमिटी सचिव सागर न्यौपानेले जानकारी दिए।
सिद्धार्थनगर नगरपालिका शिक्षा शाखाले गरेको निर्णयमा स्कुल भर्ना खोल्ने र विद्यार्थीहरुको असार साउन भदौमा ७० प्रतिशत, असोज महिना देखि ८० प्रतिशत शुल्क लिने निर्णय भएको छ। यो निर्णयमा असहमति जनाएको सिद्धार्थनगर कमिटी अध्यक्ष मनिष ढकालले बताए।
सिद्धार्थनगर नगरपालिकाले आइतबार सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्र रहेका सबै विद्यालयहरुलाई नगर शिक्षा समितिको बिहीबारको निर्णय कार्यान्वयन गराउन पत्र पठाएको थियो।
निर्णयमा विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को दफा ३ मा भएको व्यवस्था बमोजिम संस्थागत विद्यालयको शुल्क निर्धारण सम्बन्धमा २०७६ को शुल्कलाई आधार मानी असार, साउन भदौ महिनाको ७० प्रतिशत र असोजबाट ८० प्रतिशत शुल्क लिने, असोजको दोस्रो हप्ता सम्ममा विद्यालय भर्ना हुन बाँकी र स्थान्तरित विद्यार्थीहरुको भर्ना गर्ने, निर्देशिका बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पठनपाठनको व्यवस्था मिलाई कक्षा १ देखि ७ सम्मका विद्यार्थीलाई साताको २ दिन र कक्षा ८, ९ र १० लाई नियमित पठनपाठन सञ्चालन गर्ने उल्लेख थियो।
तर डिसीसीएमसी रुपन्देहीले जिल्ला प्रशासन कार्यालयलाई विद्यालय भौतिक रुपमा सञ्चालन नगर्न प्रस्ताव गरेको छ।
विद्यार्थीको लागि पठनपाठनलाई निरन्तरता दिन र शैक्षिक सत्र खेर जान नदिनका लागि सिकाई सहजीकरण निर्देशिका २०७७ ले विद्यार्थीलाइ वैकल्पिक विधिबाट पढाउन अनुमति दिएको सिद्धार्थनगर शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले बताए।