भैरहवा–सत्तारुढ नेकपानिकट अनेरास्ववियू भैरहवा बहुमुखी क्याम्पस कमिटी सिद्धार्थनगरले सिद्धार्थनगर नगरपालिका रुपन्देहीको शिक्षा शाखामा तालाबन्दी गरेको छ।
सिद्धार्थनगर शिक्षा शाखाले गरेको निर्णय विद्यार्थी र अभिभावकको मर्म हित विपरित भएको भन्दै सो निर्णय २४ घण्टा भित्र फिर्ता गर्नुपर्ने माग राखेपनि सुनुवाई नभएको कारण देखाउँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले ताला लगाएको हो।
‘नगरपालिकाले स्कुल भर्ना खोल्ने र विद्यार्थीहरुको असार, साउन, भदौको ७० प्रतिशत, असोज महिनादेखि ८० प्रतिशत शुल्क लिने निर्णय गरेको छ, यसमा अनेरास्ववियूले घोर आपत्ति छ, निर्णय सच्याउनुपर्छ’–सिद्धार्थनगर कमिटी अध्यक्ष मनिष ढकालले भने।
यस्तो विषम परिस्थितिमा निजी विद्यालयको भर्ना कार्यक्रममा सहभागी नभई ऐक्यबद्धता जनाउन अनेरास्ववियुले अभिभावकहरुलाई अनुरोध गरेको छ।
संगठनले निजी शैक्षिक सस्थाहरुलाई पनि तत्काल भर्ना कार्यक्रम स्थगित गरी सहयोग गर्न अनुरोध गरेको छ। भर्ना कार्यक्रम सञ्चालन गरेको पाइएमा थप आन्दोलन गर्ने संगठनले चेतावनी दिएको छ।
‘हामीले अल्टिमेटम दिएका थियौं, समितिले हामीसँग कुनै छलफल वार्ता गरेको छैन, एकलौटी निजी विद्यालयहरुको हितका लागि भएको निर्णय फिर्ता नहुने देखिएपछि थप आन्दोलनको कार्यक्रम गर्न बाध्य भएका हौं’–ढकालले भने।
सिद्धार्थनगर नगरपालिकाले आइतबार सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्र रहेका सबै विद्यालयहरुलाई नगर शिक्षा समितिको बिहीबारको निर्णय कार्यान्वयन गराउन पत्र पठाएको थियो।
निर्णयमा विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को दफा ३ मा भएको व्यवस्था बमोजिम संस्थागत विद्यालयको शुल्क निर्धारण सम्बन्धमा २०७६ को शुल्कलाई आधार मानी असार, साउन भदौ महिनाको ७० प्रतिशत र असोजबाट ८० प्रतिशत शुल्क लिने, असोजको दोस्रो हप्ता सम्ममा विद्यालय भर्ना हुन बाँकी र स्थान्तरित विद्यार्थीहरुको भर्ना गर्ने, निर्देशिका बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पठनपाठनको व्यवस्था मिलाई कक्षा १ देखि ७ सम्मका विद्यार्थीलाई साताको २ दिन र कक्षा ८, ९ र १० लाई नियमित पठनपाठन सञ्चालन गर्ने उल्लेख थियो।
तर डिसीसीएमसी रुपन्देहीले जिल्ला प्रशासन कार्यालयलाई विद्यालय भौतिक रुपमा सञ्चालन नगर्न प्रस्ताव गरेको छ।
विद्यार्थीको लागि पठनपाठनलाई निरन्तरता दिन र शैक्षिक सत्र खेर जान नदिनका लागि सिकाई सहजीकरण निर्देशिका २०७७ ले विद्यार्थीलाइ वैकल्पिक विधिबाट पढाउन अनुमति दिएको सिद्धार्थनगर शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले बताए।