भैरहवा–रुपन्देहीको रोहिणी गाँउपालिका क्षेत्रका ३ दर्जनबढी विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना जोखिमका कारण चैत्र देखि बन्द रहेको विद्यालयहरु आइतबारबाट सञ्चालनमा आउने भएका हुन्।
गाउँपालिका शिक्षा समितिको २० गते बसेको बैठकले गाउँपालिकाका सबै विद्यालयले स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै २३ गते देखी अध्ययन अध्यापन शुरु गर्ने निर्णय गरेसँगै विद्यालय सञ्चालनको बाटो खुलेको हो ।
कोरोना भाइरस कोभिड–१९को कारण ७ महिनादेखि प्रभावित रहेको पठनपाठन कार्य अभिभावकको सहमतिमा सुरक्षा मापदण्ड अपनाई सञ्चालनमा ल्याउन लागिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख आर मोहम्मख खाँले बताए ।
खाका अनुसार प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलापको अभावमा शैक्षिक सत्र नै प्रभावित भई रहेको अवस्थामा अब सावधानी अपनाउँदै विद्यालय सञ्चालनको विकल्प नरहेकोले सबैको सहमतिमा सुरक्षा मापदण्डमा रही विद्यालय सञ्चालन गर्न लागिएको हो ।
विद्यार्थी र शिक्षकले अनिवार्य रुपमा माक्स लगाउनुपर्ने, विद्यालय हाताभित्र प्रवेश गर्दा सबैको ज्वरो परिक्षण गर्ने, सामाजिक दुरी कायम गरि पठनपाठन गर्ने, एउटा बेन्चमा २ जना मात्र बस्ने व्यवस्था मिलाउने, विद्यार्थीको चापलाई मध्यनजर गर्दै सिफ्टमा कक्षा सञ्चालन गर्ने, माक्स नलगाई आएमा वा स्वास्थ्यमा समस्या देखिएमा त्यस्ता शिक्षक र विद्यार्थीलाई विद्यालयमा हातामा प्रवेश नदिईने शिक्षा समिति बैठकले निर्णय गरेको छ ।
रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले यसरी अध्यापन गराउँदा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई निर्देशिका २०७७ अनुसार नया पाठ्यक्रमको आधारमा कक्षा सञ्चालन गरिने जनाए ।
कतिपय सामुदायिक विद्यालयहरु क्वारेन्टिन र आइसोलेसनका लागि समेत प्रयोग गरिएकोले ती विद्यालयहरुलाई निःसंक्रमण गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पठनपाठन शुरु गर्ने बताए ।
उनले पहिलो पटक गाउँपालिकाले विद्यालयमा सेनेटाइजरको व्यवस्था गर्ने र त्यस पछि विद्यालय आफैले सोको व्यवस्थापन गर्नुपर्ने बताए ।
रोहिणी गाउँपालिकामा १५ वटा सामुदायिक विद्यालय, ११ वटा संस्थागत विद्यालय र १२ वटा धार्मिक मदरसाहरु सञ्चालनमा रहेका छन् ।
नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज १ गतेदेखि वैकल्पिक शिक्षण सिकाई सहजीकरण निर्देशिका अनुसार वैकल्पिक शिक्षण सिकाई गर्न निर्देशन दिएको थियो ।
निर्देशिकाले पनि विद्यालय संचालन गर्ने जिम्मेवारी स्थानीय तहको रहने व्यवस्था गरेको छ । कोरोनाको जोखिम कम नभएपछि जोखिमकै विचमा स्वास्थ्य सुरक्षा मापदण्डलाई ख्याल गरेर विद्यालय संचालन गर्नुपरेको हो ।