बुटवल-कोरोना संक्रमणका कारण बन्द रहेका बुटवलका विद्यालयहरु अझै सञ्चालनमा आएका छैनन् । रुपन्देहीका अन्य स्थानिय तह र बुटवलका १४ देखि १९ नम्बर वडाका विद्यालय सञ्चालनमा आए पनि मुख्य शहरका विद्यालयहरु अझै खुलेका छैनन् ।
अब भने उपमहानगरले शहरी क्षेत्रका विद्यालय पनि खोल्ने तयारी गर्दै छ । विद्यालयमै पठनपाठन सुचारु गर्न उपमहानगरले विकल्प सहितको कार्यायोजना माग गरेको छ ।
शहरी क्षेत्रमा कोरोना संक्रमणको जोखीम अझै उच्च रहेपनि विशेष सतर्कता अपनाएर मापदण्ड तोकेर विद्यालय खोल्ने उपमहानगरको तयारी छ । विद्यार्थी संख्या र भौतिक पूर्वाधार समेतको मध्येनजर गरी विद्यालयहरुलाई ६ वटा मध्ये कुनै विकल्प दिन भनिएको छ ।
सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने, अलग अलग सिफ्टमा अलग अलग कक्षा सञ्चालन गर्ने, आवश्यक्ता हेरी विद्यालय खुल्ने र सञ्चालनको अवधि छोट्याउने, अवस्था हेरी केही कक्षाहरु मात्र सञ्चालन गर्ने लगायतका विकल्प छन् ।
त्यस्तै कुनै दिन केही कक्षा र कुनै दिन बाँकी कक्षा हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने, कक्षाका केही विद्यार्थी कुनै सिफ्ट र बाँकी विद्यार्थी अर्को सिफ्टमा सञ्चालन गर्न सकिने विकल्प रहेका छन् ।
विद्यालयहरुले विद्यार्थी संख्या र पूर्वाधारलाई मध्येनजर गरेर मंसिर ८ गते भित्र विकल्प दिनुपर्ने बुटवल उपमहानगरका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले बताए । निजी विद्यालय सञ्चालकहरुले विद्यालय खोल्न दबाब दिँदै आएका छन् ।