बुटवल–बुटवल उपमहानगरपालिकाले विद्यालयहरु खोल्ने तयारी गरेको छ। तर विद्यालय खुलेपनि नर्सरीदेखि २ कक्षासम्मका बालबालिकालाई तत्काल विद्यालय नबोलाइने भएको छ।
ठूला कक्षाको अवस्था हेरेर मात्र साना कक्षाबारे निर्णय लिने उपमहानगरका शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले बताए।
‘२ कक्षा र त्यस भन्दामुनिका कक्षा अहिले खोल्न नदिने भन्ने छ’–उनले भने–‘पहिले ठूला कक्षा चलाएर हेरौं, संक्रमणको अवस्था के हुन्छ, त्यसपछि मात्र साना कक्षाको बारेमा सोंचौला भनिएको छ।’
साना कक्षाको लागि अनलाईन कक्षा पढाउन र होमभिजिट गर्न भनेको खनालले बताए। उपमहानगरले थोरै विद्यार्थी भएका केही प्रावि तहका विद्यालय खोल्न अनुमति दिइसकेको छ।
‘मजुवामा रहेको सूर्योदय प्रावि, मैनाबगर प्रावि, सहिद स्मृति प्रावि, मायादेवी प्राविलाई विद्यालय खोल्न भनेका छौं’–खनालले भने–‘उहाँहरुले तिन देखी पाँच कक्षा सम्म खोल्न पाउनुहुन्छ।’
अरु विद्यालयहरुको लागि कार्ययोजना र विद्यालयको अवस्थाबारे अध्ययन गरेर मात्र निर्णय गर्ने उपमहानरले जनाएको छ।
कोरोना संक्रमणको कारण लामोसमय सम्म बन्द रहेका विद्यालय खोल्ने तयारी स्वरुप बुटवल उपमहानगरले विद्यालय सञ्चालकहरुसँग कार्यायोजना माग गरेको थियो।
८ गतेसम्म कार्यायोजना बुझाउन आग्रह गरेपछि धेरै विद्यालयले विद्यालय खोल्न विकल्प सहितको कार्यायोजना पेश गरेका छन्।
विद्यालयहरुले पठाएको कार्ययोजना अध्ययन गरिरहेको र सबै कुरा अध्ययन गरेर विद्यालय खोल्ने बारे निर्णय लिने खनालले जानकारी दिए।
‘कार्ययोजना आइरहेको छ, हामीले हेर्दैछौं’–उनले भने–‘वडा, शहरी स्वास्थ्य केन्द्र, हाम्रो प्राविधिक टोलीले विद्यालयहरु हेरिरहेको छ, मापदण्ड पूरा गरेका विद्यालयहरु मात्र चल्छ।’ मापदण्ड पुरा गर्नको लागि भौतिक दुरी कायम गर्न मिल्ने, हातले नछोइकन खुट्टाले छुँदा साबुन र पानी झर्ने व्यवस्था हुनुपर्ने खनालले बताए।
सामुदायिक विद्यालयमा उपमहानगरले पनि सहयोग गर्ने र संस्थागत आफैले गर्नुपर्ने उनको भनाइ छ।
विद्यालय खोल्न भन्दा अघि अभिभावकको सहमति लिनुपर्ने खनालले बताए। ‘विद्यालयहरुले अझै अभिभावकहरुसँग सहमति लिएका छैनन्। बैठक बोलाएर विद्यालय खोल्न लिखित सहमति लिनुपर्छ’–उनले भने–‘हामीले डाक्टर, नर्स, सिनियर अहेवको टोली खटाएका छौं। उहाँहरुलाई बोलाएर मापदण्ड देखाउनुपर्यो।’
बुटवल उपमहानगरपालिका अन्तर्गत वडा नम्बर १४ देखि १९ सम्मका वडामा विद्यालय खुलीसकेको छ। शहरी क्षेत्र रहेको १ देखी १३ सम्मका वडाका विद्यालय अझै खुलेको छैन।