काठमाडौ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कसरी सञ्चालन गर्ने भन्नेबारे अन्याेल सिर्जना भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई कहिले र कसरी गर्ने भन्ने विषयमा सरकारले टुंगो लगाउन नसक्दा अन्याेलकाे अवस्था सिर्जना भएकाे जनाएकाे छ । यसले विद्यार्थी, शिक्षक र अभिभावकलाई अलमलमा पारेको छ।
कोरोना महामारीका कारण सरकारले २०७६ सालको एसईई परीक्षा विद्यालयहरुलाई नै आन्तरिक मूल्याङ्कनका आधारमा गर्न जिम्मा दिएको थियो ।
शिक्षा मन्त्रालयले यस वर्षदेखि परीक्षाबारे शिक्षा ऐनले टुंगो लगाउने भने पनि कानुन नबन्दा परीक्षा बोर्ड, प्रदेश शिक्षा निर्देशनालय वा विद्यालय कसले गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको बोर्डले जनाएको छ ।
परीक्षा सञ्चालनका विषयमा टुंगो लगाउन मन्त्रालयसँग आग्रह गरेको र मन्त्रालयको निर्णय कुरेर बसेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए ।
मन्त्रालयको निर्णयकाे प्रतीक्षा गरिरहेकाले अरु तयारी गर्न बाँकी रहेको पनि उनले बताए । एसईई परीक्षाबारे छिटो निर्णय गर्न मन्त्रालयलाई पत्र पठाइएको उनले जानकारी दिए ।
एसईईका लागि हरेक वर्षको असोज पहिलो हप्तासम्ममा कक्षा १० का विद्यार्थीले आवेदन फारम भरिसक्नु पर्ने हो । तर, यो वर्ष कोभिड-१९ का कारण मङ्सिर अन्तिमसम्म पनि आवेदन फाराम खुला गरिएको छैन।
शिक्षा मन्त्रालयले अघिल्लो वर्ष नै संघीय शिक्षा ऐनको विधेयकमा एसईई प्रादेशिक स्तरमा सञ्चालन गर्ने प्रस्ताव गरेको थियो । तर, शिक्षा ऐन नबन्दा यस वर्षको परीक्षा सञ्चालन कसले गर्ने भन्ने विषयमा थप अन्योल र जटिलता देखिएको छ ।