काठमाडौं-माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशस्तरमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को सामाजिक विकास समितिमा ८ कक्षाको परीक्षा स्थानीय सरकारले, एसईईको प्रदेश सरकारले र १२ को संघ (राष्ट्रिय परीक्षा बोर्ड) ले गर्ने सहमति जुटेको हो ।
यो प्रस्तावलाई अब मन्त्रिपरिषद्मा लैजाने शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए । यो वर्ष एसईईको र क्रमश : कक्षा ८ र १२ को परीक्षा गर्ने योजना शिक्षा मन्त्रालयले तयार पारेको छ । ‘समितिमा सहमति जुटेको छ । मन्त्रिपरिषद्बाट पारित भएपछि लागू हुन्छ’, शिक्षा मन्त्रालयका एक अधिकारीले भने ।
शिक्षा मन्त्रालयले पनि परीक्षा र कोभिडका कारण प्रभावित भएको शैक्षिकसत्रलाई व्यवस्थापन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । शिक्षा मन्त्रालयको प्रस्ताव र सामाजिक विकास समितिको निष्कर्षका आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।
एसईई कसरी सञ्चालन हुन्छ ?
प्रदेशको सामाजिक विकास मन्त्रालयको नेतृत्वमा परीक्षा हुनेछ । सचिवको अध्यक्षतामा परीक्षा बोर्ड र प्रदेश शिक्षा निर्देशनालयले प्राविधिक काम गर्नेछ भने राष्ट्रिय परीक्षा बोर्डले सहजीकरण गर्नेछ ।
‘अब एसईई सञ्चालनको नेतृत्व प्रदेशको सामाजिक विकास मन्त्रालयले लिनेछ । प्राविधिक काम प्रदेशको शिक्षा विकास निर्देशनालयले गर्छ । सर्टिफिकेसन र प्रमाणीकरण निर्देशनालयले गर्छ’, मन्त्रालय उच्च स्रोतले भन्यो । यसअघि एसईई र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दै आएको थियो ।
संघीयताअनुसार शिक्षाको कार्यान्वयन गरिने शिक्षासचिव गोपीनाथ मैनालीले बताए । ‘विभिन्न विकल्पमा छलफल भइरहेको छ । परीक्षा र शैक्षिकसत्र व्यवस्थापनको विषयमा छिट्टै निर्णय हुन्छ । संघीयताअनुसार शिक्षाको कार्यान्वयन हुन्छ’, उनले भने ।
तर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को रजिष्ट्रेसन फारम र कक्षा १० (एसईई) को आवेदन फारम भने खुलाइसकेको छ । १६ पुसदेखि २१ माघसम्ममा विद्यालयले विद्यार्थीको रजिष्ट्रेसन र आवेदन फारम भराइसक्न बोर्डले भनेको छ ।
‘रजिष्ट्रेसन फाराम र आवेदन फारम खुलाएका छौँ’, परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘परीक्षा कसले गर्ने निर्णय भएको छैन । तर, जसले परीक्षा लिए पनि विद्यार्थीको फारम भराउने निर्णयमा पुगेका हौँ ।’