बुटवल- बुटवलमा रहेको सिसिआईले माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप गर्ने भएको छ। प्रतियोगिताबारे जानकारी दिन रुपन्देहीका विद्यालय तथा क्याम्पसमा अध्यापनरत कम्प्युटर शिक्षकहरु तथा प्रिन्सिपलहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ। लुम्बिनी प्रदेशको ६ जिल्लाका लागि आधिकारिक संस्थाका रुपमा सिसिआईले प्रतियोगिताको समन्वय गर्न लागेको हो ।
संस्थाका प्रबन्ध निर्देशक राजु थापाको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक दिनेश लामिछानेले सहजिकरण गरेका थिए। कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेल, एम्स कलेजका प्रमुख दिपक ढकाल लगायतले संस्थागत सहकार्यका लागि प्रतिवद्धता जनाएका थिए।
कार्यालयहरुमा प्रयोगमा आउने सफ्टवयरहरु माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरप्वाइन्टका अनलाईन विधिबाट निःशुल्क तालिम दिई प्राप्त गरेको सिप परिक्षण गर्ने र प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार प्रदान गरिने बताइएको छ।प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई जिल्लागत तथा राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराई उत्कृष्टलाई अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी गराईनेछ। जिल्लागत रुपमा उत्कृष्ट हुनेले नगद १५ हजार, राष्ट्रिय रुपमा उत्कृष्ट हुनेले ५० हजार र अन्तर्राष्ट्रिय तहमा उत्कृष्ट हुनेले ७ हजार अमेरिकी डलर, प्रमाणपत्र, ट्रफी र छात्रवृत्ति प्राप्त गर्नेछन् ।
प्रतियोगितामा विश्वका १ सय ३५ देशका विद्यार्थीहरुले सहभागिता जनाउने छन । प्रतियोगितालाई स्थानीय स्तरमा लुम्बिनी प्रदेशका ६ वटा जिल्लाहरु रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, अर्घाखाची, गुल्मी र पाल्पाका लागि सहजीकरणको आधिकारिता सिसिआई बुटवलले प्राप्त गरेको छ।
विद्यार्थीहरुलाई प्रतियोगीतामा समावेस गराउने र पुरस्कार जित्न अभिप्रेरित गर्ने मात्र नभई उनीहरुलाई जागिरको अवसर प्राप्त गर्न र उच्च शिक्षामा सफलता हासिल गर्न समेत सहयोग गर्नु प्रतियोगिताको उद्धेश्य रहेको प्रबन्ध निर्देशक थापाले बताउनुभयो। जिल्ला स्तरीय प्रतियोगिताका लागि संस्थाले सम्पूर्ण तयारी पुरा गरिसकेको र लुम्बिनी अञ्चलका छ वटै जिल्लामा गएर सहभागीहरु छनौट गरिने थापाले जानकारी दिए।
आगामी वैशाख २४ देखी जेठ ८ गतेसम्म जिल्ला स्तरीय, जेठ २३ देखि २८ गते सम्ममा राष्ट्रिय र साउन १७ देखि २० गते सम्म अन्तर्राष्ट्रिय सबै प्रतियोगीता सम्पन्न हुनेछन्। कम्तिमा १३ वर्ष पुरा भएको र २२ वर्ष नकाटेको जो कोही नेपाली नागरिक प्रतियोगितामा सहभागी हुन सक्नेछन्।
जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएका प्रतिस्पर्धीहरु राष्ट्रिय प्रतियोगितामा छनौट हुने छन। च्याम्पियनसीपका लागि ७७ वटै जिल्लाका ४ सय ६२ जना प्रतिस्पर्धीबीच राष्ट्रिय रुपमा अन्तिम प्रतिस्पर्धा हुनेछ। त्यसबाट छनौट भएका ६ जना उत्कृष्ट प्रतियोगीहरु (प्रत्येक विधाका २ जना) इन्टरनेशनल च्याम्पियनसीपको लागि स्वतः छनौट हुनेछन्।
उनीहरु माइक्रोसफ्टद्धारा अमेरिकाको ओर्लान्डो, फ्लोरिडामा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा सहभागी हुनेछन। प्रतियोगितामा नेपालका हिमाल श्रेष्ठले सन २०१३ मा वल्र्ड च्याम्पियनको उपाधी हासील गरिसकेका छन्।