बुटवल । कोरोना भाइरस संक्रमणको दोस्रो उभार उठ्न लागिरहेका बेला सरकारले विद्यालय तथा कलेज केही साताका लागि बन्द गर्ने तयारी गरेपछि विद्यालय संचालकहरुले असन्तुष्टि जनाएका छन् ।
नेपालका मुख्य सहरहरुमा तीन सातासम्म विद्यालय बन्द गर्ने तयारी गर्दै गएको शनिबार यस विषयमा कोभिड संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)मा छलफल भएको थियो । सरकार अझै निर्णयमा नपुगेको भएपनि निर्णयमा नपुग्न दवाव दिदैं निजी विद्यालयका संचालकहरुले विरोध जनाउँदै विज्ञप्ती जारी गरेका छन् ।
निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सनले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु नै उपयुक्त हुने बताएको छ । कोरोना संक्रमणको दर देशभर एउटै नहुने भएकाले अत्यन्त आवश्यक भए सम्बधित विद्यालय वा सम्बन्धित पालिकामा मात्र निश्चित समयका लागि प्रतिबन्धात्मक व्यवस्था गर्न भन्दै प्याब्सनले अन्य ठाउँमा विद्यालय सञ्चालन गर्न दिन आग्रह गरेको छ ।
‘मुलुकभरि कोरोना संक्रमणको वृद्धिदर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरी अत्यन्त आवश्यक भए सम्बधित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्र केही निश्चित समयका लागि प्रतिबन्धात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सृजना गरिदिनहुन नेपाल सरकार सँग माग गर्दछौं’ प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्तिमा भनेका छन् ।
गत वर्ष कोरोना महामारीको समयमा विद्यालय बन्द हुँदा सञ्चालन गरिएको अनलाइन कक्षामा ५० प्रतिशत विद्यार्थीमात्र समेटिएको भन्दै प्याब्सनले अहिले पनि विद्यालय बन्द गर्न नहुने बताएको छ ।
‘कोरोनालाई जीवनको एउटा हिस्साको रुपमा स्वीकार्दै कोरोनासँग संघर्ष गर्दै जनजीवनलाई यथासम्भव सहज बनाउनेतर्फ पहल कदमी गर्न जरुरी रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।