काठमाडाैँ- कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णय स्थानिय तहले नै गर्न सक्ने भएका छन्। तर त्यसरी निर्णय गर्दा जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीको समन्वयमा गर्नुपर्ने हुन्छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितीमा शुक्रबार मन्त्रालयमा कोभिड – १९ को पछिल्लो अवस्था बारे समिक्षा भएको थियो । उक्त समिक्षापछि मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरी ठाउँ विशेषको संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने अथवा बन्द गर्ने भन्ने निर्णय स्थानीय तहले र डीसीसीएमसीले गर्न सक्ने बताएको हो।
मन्त्रालयले शिक्षण संस्थाभित्र सभा समारोह, वार्षिकोत्सव जस्ता भिडभाड हुने कार्यक्रम नगर्न पनि र शिक्षा मन्त्रालयबाट जारी भएको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाचा २०७७ को अनुसरण गर्न पनि अनुरोध गरेको छ।
यस्तै शिक्षण संस्थाहरुमा माक्स र सेनेटाइजरको अनिवार्य प्रयोग गर्ने, साबुन पानीले हात धुने, कोही व्यक्तीमा संक्रमणको लक्षण देखिएमा आइसोलेसनमा राखी स्वास्थ्य संस्थामा सम्पर्क राख्ने व्यवस्था मिलाउन विद्यालयहरुलाई आग्रह गरिएको मन्त्रालयका प्रवक्ता दिपक शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।