बुटवल- नेपाल सरकारको सोमवार बसेकाे मन्त्रिपरिषदको बैठकले शहरी क्षेत्र र कोरोना संक्रमण बढेका जिल्लामा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। बन्द भएका विद्यालयमा अनलाईन माध्यमबाट पठन पाठन गर्न भनिएको छ। शिक्षा मन्त्रालयका अनुसार शहरी क्षेत्र पर्ने देशभरका ४० वटा स्थानिय तहमा मात्र विद्यालय बन्द हुने छ।
जस अनुसार रुपन्देहीका १६ वटा पालिका मध्ये बुटवल उपमहानगरपालिका र भैहरवा नगरपालिका पनि परेको छ। बाँकी १५ वटा स्थानिय तहका विद्यालयले स्वास्थ्य मापदण्डको पालना गरेर पठन पाठन गराउन सक्ने रुपन्देहीका जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख दिपेन्द्र ढकालले जानकारी दिए।
बुटवल उपमहानगरमा मंगलबार विद्यालयहरु सञ्चालन भइरहेका छन्। उपमहानगरका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले सरकारको निर्णय अनुसार विद्यालयमा पठन पाठन बन्द गर्ने तर परिक्षा सञ्चालन गर्ने जानकारी दिए। ‘सरकारले पठन पठन बन्द गर्न भनेको हो । परिक्षा रोक्न भनेको छैन। त्यसैले हामीले कक्षा सञ्चालन हुन दिन्नौ। परिक्षा चल्छ।’ उनले भने ‘लगभग पढाइ सकिएको छ। परिक्षा मात्र बाँकी हो अब परिक्षा लिएर विद्यालय बन्द गर्ने तयारीमा छौं।’
उता भैरहवामा भने बुधबार देखी विद्यालय बन्द हुने भएको छ। सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशिल लम्सालले बैशाख २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए। ‘यहाँ केही विद्यालयमा बालबालिकामा कोरोना संक्रमण पनि देखिएको छ। त्यसैले विद्यालय बन्द गर्ने तयारी गरेका छौं। सरकारले पनि निर्णय गरेछ।’ उनले भने ‘२० गतेसम्म पढाइ बन्द गरेर हेर्छाैं। त्यसपछि अवस्था केही सहज भयो भने परिक्षा सञ्चालन गर्छौ।’
निजी तथा आवासीय विद्यालयहरुको संस्था प्याब्सन रुपन्देहीले भने आइरहेको परिक्षा सक्न दिएर विद्यालय बन्द गर्दा उपयुक्त हुने बताएको छ। ‘सरकारले निर्णय गरिसक्यो । पठन पाठन बन्द गर्नैपर्छ।’ उनले भने ‘अरु पालिकामा त समस्या छैन । बुटवल र भैरहवा परिक्षा सञ्चालन गर्न दिदाँ राम्रो हुन्थ्यो । डीसीसीएमसीसँग हामीले त्यही अनुरोध गर्छाैं।’
शिक्षण संस्थाको सम्बन्धमा थप निर्णय गर्न मंगलबार जिल्ला स्तरिया कोभिड १९ संकट व्यवस्थापन समितिको बैठक पनि बस्दै छ। वैठकमा प्याबसनका प्रतिनिधि सहित सरोकारवालाहरुलाई पनि बोलाइएको छ।