बुटवल– बुटवल उपमहानगरपालिकाले पाँच वर्षमा नगरभित्रका सबै सामुदायिक विद्यालयलाई मन्टेश्वरी विधिबाट शिक्षण सिकाइ गर्ने अवस्थामा पु¥याउने लक्ष्यसहितको शिक्षा योजना तयार पारेको छ।
आगामी पाँच वर्ष भित्रमा प्रत्येक बालबालिका, व्यक्ति र समूदायलाई उत्पादनमूलक तथा व्यवहारिक शिक्षाको पहुँच पु¥याउने दूरदृष्टिसहितको ‘बुटवल शिक्षा योजना’ सोमबार सार्वजनिक गरिएको हो।
उपमहानगरमा सोमबार आयोजित एक कार्यक्रममा प्रमुख शिवराज सुवेदीले शिक्षा योजना सार्वजनिक गर्दै शिक्षालाई नगरले पहिलो प्राथमितामा राखेको बताए।
उत्पादनमूलक तथा व्यवहारिक, सिपयुक्त व्यवसायिक र प्राविधिक शिक्षाको पहुँच सबैमा पु¥याउने योजनाको दूरदृष्टिलाई साकार पार्नेतर्फ केन्द्रित हुन उनले सबै सरोकारवालाहरुलाई आग्रह गरे।
नयाँ–नयाँ प्रविधि र ज्ञानविज्ञानको क्षेत्रलाई समेट्दै सम्पूर्ण बालबालिका, युवा तथा जेष्ठ नागरिकहरूको समेत मौलिक आधिकारको संरक्षण गर्दै उनीहरूलाई सहज, सुलभ, सरल तथा आवश्यकता अनुसार शिक्षा प्रदान गर्नकै लागि २०७६-७७ देखि २०८०-८१ सम्मको पञ्चवर्षीय शिक्षा योजना सरोकारवाला पक्षको सहभागितामा तयार पारिएको प्रमुख सुवेदीले बताए।
नगरपालिकाभित्रका शैक्षिक मुद्दा तथा चुनौतीहरूलाई प्राथमिकताका आधारमा समाधान गर्न जनप्रतिनिधि, वडा शिक्षा समिति, विद्यालयहरू, प्राविधिक तथा सीपमूलक शिक्षण संस्थाहरू, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अन्य सम्बद्ध शैक्षिक संस्थाहरूको अन्तरक्रिया, छलफल सम्पन्न गरी योजना बनाएको शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए।
योजनाअनुसार आगामी पाँच वर्षभित्र बुटवल उपमहानगरपालिकामा शिक्षा प्राप्त गर्न सक्ने उमेर समूहका प्रत्येक बालबालिका, व्यक्ति र समूदायलाई उत्पादन मूलक, व्यवहारिक तथा सीपयुक्त व्यवसायिक र प्राविधिक शिक्षाको पहुँच पुग्नेछ।
योजनाअनुसार ‘एक घर एक रोजगार, एक शिक्षित एक साक्षर’ बनाउन छोरी शिक्षकको व्यवस्था गरी प्रत्येक टोलमा सामूहिक/सामूदायिक वा सहकारी शिक्षा कार्यक्रम ल्याइनेछ।
बुटवल उपमहानगरको पाँच वर्षे शैक्षिक योजना अन्तरगत सबै सामुदायिक विद्यालयहरुलाई मण्टेश्वरी प्रणालीमा लैजाने, आधारभूत तहको शिक्षालाई अनिवार्य र स्थानीय विषयहरुलाई समेत पाठ्यक्रममा समेट्ने योजना रहेको योजना निर्माण कार्यदलका संयोजक छवि नेपालले जानकारी गराए।
शिक्षालाई सूचना प्रविधिमैत्री र हिंसामुक्त मनाउनका लागि बालबालिकाहरुलाई भयरहित वातावरणमा शिक्षा प्रदान गर्ने योजनालाई अगाडि बढाइएको उनको भनाइ छ ।
नगरको वर्तमान शैक्षिक अवस्था (साक्षर, शिक्षित र निरक्षर) पत्ता लगाउने, शैक्षिक गुणस्तरलाई मापन योग्य बनाउने, विद्यालयलाई वाल, महिला र अपाङ्ग मैत्रीबनाउन पूर्वाधार तैयार गर्नेसमेत योजनाको लक्ष्य छ।
यस्तै विद्यालयमा समावेशीतालाई उच्च प्राथमिकता दिंदै शैक्षिक तथ्यांकलाई भरपर्दो र विश्वासिलो बनाउने, समुदायमैत्री शिक्षण संस्थाको विकास गर्ने तथा व्यवासायिक सीपयुक्त तथा प्राविधिक शिक्षाको व्यवस्था गर्ने योजनाले लक्ष्य लिएको छ।
यस्तै विद्यालय छाड्ने दरमा कमी ल्याउँदै पूर्णतया रोक्ने, विद्यार्थीको उत्तीर्ण दरमा वृद्धि गर्ने, परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने तथा शिक्षक व्यवस्थापनमा सुधार गर्दै विद्यालय व्यवस्थापन, सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रत्याभूति दिने योजनाको लक्ष्य रहेको उपहानगरले जनाएको छ।
यसैगरी पञ्चवर्षीय शैक्षिक योजनामा कक्षा ९ देखि कक्षा १२ सम्मको शिक्षालाई प्राविधिक शिक्षाको रुपमा थप व्यवस्थित गरी अगाडि बढाउने, विद्यालय नक्सा तयार गरी अनावश्यक विद्यालयहरुलाई सेक्टर बेसमा समायोजन गर्दै लैजाने तथा विद्यालय ग्यापको आधारमा आवश्यक ठाउँमा विद्यालय स्थापना गर्ने योजनामा छ।
भरपर्दो तथ्य एवं तथ्यांकको आधारमा प्रत्येक बालबालिका, महिला, प्रौढ तथा जेष्ठ नागरिकलाई निःशुल्क र अनिवार्य रहेको आधारभूत तहको शिक्षा प्रदान गर्न माध्यमिक शिक्षालाई निःशुल्क गर्न र आवश्यक व्यवस्था गर्ने उद्देश्य शिक्षा योजनाले लिएको छ।
जनता शिक्षित नभएसम्म अन्य आधारभूत कुराहरू पूरा गर्न नसकिने भन्दै व्यवसायिक, सीपयूक्त तथा रोजगार मूलक प्राविधिक शिक्षालाई बहूआयामिक क्षेत्रमा रोजगारीको अवसर सिर्जना गरी सोहीअनुसारको शिक्षा दिन सक्ने प्राविधिक तथा व्यावसायिक विद्यालयको स्थापना गर्ने उपमहानगरपालिकाको उदेश्य छ।
स्थानीय तहले पाठ्यक्रम निर्माण गर्ने अधिकारअनुरुप बुटवलले नगरसभाबाटै शिक्षा योजना बनाउने निर्णय गरेको थियो।
शिक्षा योजनाका लागि कार्यादेशसहितको कार्यदल गठन गर्दै फिल्डमा खटाइएको थियो । कार्यदलले प्रश्नावली तथा तथ्याङ्क संकलन फारम तयार गरी सरोकारवाला पक्षसँग छलफल र अन्तरक्रिया गरेर शिक्षा योजना तयार पारेको हो।
योजना निर्माणका लागि प्रदेश सरकारको वस्तुस्थिति र अन्य आधार पत्रहरूको समेत अध्ययन गरिएको, जिल्ला शिक्षा योजना तथा अन्य तथ्याङ्कहरूलाई आधार बनाउँदै २०६८ को जनसंख्याको वृद्धिदरको आधार मानी प्रक्षेपण गरिएको उपमहानगरले जनाएको छ।