बुटवल - बुटवल उपमहानगरपालिकाले बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई)मा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने योजना बनाएको छ । उपमहानगरको पछिल्लो कार्यपालिका बैठकले इन्जिनियरिङ कलेज सञ्चालनको लागि पहल गर्ने निर्णय गरेको हो।
इन्जिनियरिङ कलेज सञ्चालनको लागि सम्बन्धनकाे स्वीकृती दिन लुम्बिनी बौद्ध विश्वविद्यालयसँग अनुरोध समेत गरिएको उपमहानगरका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले जानकारी दिए। ‘इन्जिनियरिङ कलेज सञ्चालनको लागि अनुमती तथा स्वीकृती दिन लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अनुरोध गरेका छौं।’ उनले भने ‘अनुमती पाएपछि कलेज सञ्चालनको त्यसको सबै श्रोत उपमहानगरले जुटाउँछ।’ भक्तपुर नगरपालिकाले जस्तै बुटवलले पनि आफ्नै इन्जिनियरिङ कलेज सञ्चालन गर्न खोजेको खनालले बताए।
इन्जिनियरिङ कलेज स्थापना गरेर बीटीलाईलाई नगरको गौरवको योजनाको रुपमा अघि बढाउने उपमहानगरको तयारी छ । अनुमती प्राप्त भएमा तत्कालको लागि त्यही कक्षा सञ्चालन हुने अपुग भएमा अन्त पनि जग्गा व्यवस्थापन हुन सक्ने उपमहानगरका महाशाखा प्रमुख खनालले बताए । ‘तत्काललाई त्यही पुग्ने जस्तो देखिन्छ । धेरै ठाउँ चाहिएमा मोतिपुर सेमलार तिर पर्याप्त जग्गा छ। त्यता सार्न सकिन्छ ।’ उनले भने ।
बुटवलमा ८–९ जिल्लाबाट विभिन्न जिल्लाबाट आउने गर्दछन्। यहाँ शैक्षिक हबको रुपमा स्थापित हुँदै गएकाले इन्जिनियरिङ कलेजको पनि आवश्यकता महशुस गरिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । २०२० सालमा स्थापना भएको बीटीआइमा मेकानिकल, इलेक्ट्रिसियन लगायतका प्राविधिक तालिमहरु सञ्चालन हुँदै आएको छ ।