बाँके : बाँके जिल्लाको सामुदायिक विद्यालयहरुलाई अंग्रेजी भाषा माध्यमको छुट्टै शैक्षिक शुल्क नउठाउन कोहलपुर नगरपालिकाले निर्देशन दिएको छ ।
यदि निर्देशन विपरीत कुनै पनि सामुदायिक विद्यालयले आधारभूत तह (बालविकास, कक्षा १–८) मा कुनै पनि शुल्क लिएको पुष्टि भएमा नगर अनुदान रोक्ने र आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने चेतावनी दिएको हो ।
कुनै पनि विद्यालयले विद्यार्थी तथा अभिभावकलाई शुल्क तिर्न बाध्य पारेमा तत्काल फिर्ता गराउने शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
चालु शैक्षिक सत्रका लागि पनि आधारभूत तहका सबै कक्षाहरुको पठनपाठन तथा विद्यालय सञ्चालन खर्च नगर अनुदानबाट व्यवस्थापन गरिएको हुँदा नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयका आधारभूत तह (बालविकास र कक्षा १ –८) मा सञ्चालन हुने नेपाली तथा अंग्र्रेजी भाषा माध्यामका कक्षाहरु पूर्ण रुपमा निःशुल्क सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको हो ।
आगामि आर्थिक वर्षको लागि सबै सामुदायिक विद्यालयलाई आवश्यक पर्ने पठनपाठन तथा परीक्षा सञ्चालन, शिक्षक व्यवस्थापन, शैक्षिक सामाग्री, मर्मत सम्भार कार्यका लागि चाहिने रकम नगरपालिकाबाट चौमासिक रुपमा अनुदान बजेट उपलब्ध गराउने सुचनामा इकिंत गरिएको छ ।
यस्तै कक्षा ९ र १० को वार्षिक तथा मासिक लगायतको शुल्क संरचना पुस्ट्याई सहित पेश गर्न र स्वीकृति लिन सूचित गरेको छ ।
साथै संस्थागत विद्यालयहरुलाई विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ बमोजिमको शुल्क संरचना तथा पाठ्यपुस्तकको सूची पेश गर्न समेत निर्देशन दिइएको छ ।