बुटवल - उपमहानगरपालिकाले असार ११ गते भित्र २०७७ सालको बार्षिक परिक्षाको नतिजा प्रकाशन गर्न विद्यालयहरुलाई अनुरोध गरेको छ। उपमहानगरमा बसेको सरोकारवालाहरुको बैठकले सामुदायिक तथा संस्थागत विद्यालयहरुले लिएको कक्षा १ देख ९ को बार्षिक नतिजा ११ गतेभित्र प्रकासन गर्न भनेको हो ।
नतिजा प्रकाशन लगत्तै भर्ना सुरु गर्न र असार २० गतेबाट कक्षा सञ्चालन गर्न पनि उपमहानगरले आग्रह गरेको छ । तर कक्षा सञ्चालन भौतिक उपस्थितीमा नभई वैकल्पिक विधीबाट हुनुपर्ने उपमहानगरका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालद्वारा जारी पत्रमा उल्लेख छ । 'असार २० गतेदेखी कोभिड - १९ को विषम परिस्थितीलाई मध्येनजर गरि वैकल्पिक विधिबाट सिक्षण शिकाइ क्रियाकलाप सञ्चालन गर्ने ।' विद्यालयहरुलाई पठाइएको पत्रमा भनिएको छ ।
सामुदायिक विद्यालयहरुले भर्नासँगै विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने र नीजि विद्यालयले पाठ्यपुस्तकको सूचि उपलब्ध गराउनुपर्ने छ । यसै शैक्षिक सत्रदेखी कक्षा ६ देखी ८ सम्म विद्यालयहरुमा स्थानिय पाठ्यक्रम हाम्रो बुटवल पनि समावेश गर्न भनिएको छ ।
कक्षा १ देखी ५ सम्म भने यो विषय गत शैक्षिक सत्रबाटै सुरु भएको थियो । 'कक्षा (१–५) को पाठ्यपुस्तक छपाई भइसकेकाले बजारबाट उपलब्ध गराउने कक्षा (६–८) को सन्दर्भमा हाल छपाइको प्रक्रियामा रहेकाले तत्कालको लागि बुटवल उपमहानगरपालिकाबाट उपलब्ध गराइएको स्थानिय पाठ्यक्रमको हार्ड र सफ्ट कपिका आधारमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने ।' उपमहानगरको पत्रमा भनिएको छ ।