भजनी : टीकापुर नगरपालिका–७ की सीता चौधरीले छोरालाई पढाइ शिविरमा पढाउन थालेकाे धेरै भएको छैन । छोराले अध्ययनमा भन्दा साथीसँग बढी घुलमिल हुने र पढाइमा ध्यान दिन छाडेपछि उनलाई निकै चिन्ता हुन्थ्यो । उनकाे त्यो चिन्ता धेरै दिन रहेन ।
नयाँ बिहानी पढाइ शिविरमा छोरालाई पढाउन पठाएपछि छोरामा आएको परिवर्तनले उनि आफैँ चकित छिन् । “छोराले पहिले पढाइमा त्यति रुचि राख्दैनथ्यो ।
उसको पढाइ अन्य शिशुका तुलनामा कमजोर थियो”,उनले भनिन्, “आजभोलि आफैँ लेख्न र पढ्न जान्ने भएको छ । उसमा आएको परिवर्तन देख्दा म आफैँ चकित छु । ” उनले छोराले पढाइ शिविरमा यति सजिलै सिक्न र पढ्न थाल्नेछ भन्ने नसोचेको बताइन् ।
बालकल्याण सङ्घ र वल्र्डभिजन इन्टरनेशनल नेपालका साझेदारीमा बाल स्पोन्सरसिपका परियोजनामा कैलाली जिल्लाका छ हजार १२० बालबालिका जोडिएका छन् । परियोजनाले पढाइ शिविर, रुपान्तरण कक्षासँगै स्वास्थ्य शिक्षा र जीविकोपार्जनमा बालबालिकालाई सहयोग गर्दै आएको छ ।
टीकापुरमा २० र भजनी नगरपालिकामा २५ पढाइ शिविर सञ्चालनमा छन् । ती शिविरमा एक हजार ९२ बालबालिका आबद्ध छन् । परियोजनाका कार्यक्रम व्यवस्थापक सुगम रेग्मीले ती बालबालिका अतिविपन्न परिवारका रहेकोे जानकारी दिइन् ।
“बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले समुदायमा पढाइ शिविर सञ्चालन गरेका थियौँ । पढाइ शिविर धेरै प्रभावकारी बन्न पुग्यो”, उनले भनिन्, “अहिले विद्यालय बन्द रहेका अवस्थामा पनि सहजकर्ताले घरघरमा पुगेर पुस्तक वितरण गर्ने, बालबालिकाको अवस्था बुझ्ने र स्वास्थ्य सामग्री दिने काम गर्दै आएकी छन् ।”
घोडाघोडी नगरपालिका–११ की सपना चौधरीले गत पुस महिनामा किशोरकिशोरीलाई लक्ष्य गरी गरिएको रुपान्तरण कक्षाबारे १० दिने तालिम लिने अवसर पाइन् ।
सो अवसरमा उनले लैङ्गिक असमानता, किशोरकिशोरीका समस्या, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, जीवनोपयोगी सीप र बचत तथा ऋणका बारेमा राम्रोसँग बुझ्ने मौका पाइन् ।
“तालिमले मलाई सक्षम बनाएको छ । आत्मविश्वास बढाएको छ”, उनले भनिन्, “अहिले किशोरीमा भइरहेका विभेदका घटना, युवा सशक्तीकरण र सामुदायिक सहभागितामा प्रत्यक्ष सहभागिता जनाउन सक्छौँ र त्यसको आफ्ना कुरा राख्न सक्ने भएका छौँ । ”
अहिले उनले आफ्नो समुदायमा रुपान्तरण कक्षा सञ्चालन गर्दै आएकी छिन् । समुदायका अन्य किशोरकिशोरीलाई पनि रुपान्तरणका लागि उनि सक्रियताका साथ काम गर्दै आइरहेकी छिन् ।
टीकापुर, भजनी, घोडाघोडी र गौरीगङ्गा नगरपालिकाको १४ वडाका २८ ठाउँमा सञ्चालन गरिएको रुपान्तरण कक्षामा ४३० युवा सहभागी छन् ।
उनीहरुले रुपान्तरण कक्षामा सिकेका कुरालाई समुदायकाअन्य युवकयुवतीलाई समेत सिकाउँदै आएका छन् । रासस